८ वैशाख २०८१ शनिबार
समाज

प्रदेशभर सुझाव संकलन गर्दै प्रहरी

कर्णाली छिर्ने मुख्य नाका बबईमा यात्रुहरूसंग सुरक्षित यात्राको विषयमा गुनासो सुन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठ। तस्बिर:गोविन्द/नागरिक

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभरका नागरिकसँग छलफल अन्तर्क्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ। कर्णालीका सबै जिल्लादेखि इलाका हुँदै प्रहरी चौकीसम्म नागरिकसँग सुझाव मागेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेशको वर्तमान सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान सुरु गर्ने भएको हुँदा प्रदेशभर सुझाव संकलन कार्यक्रम गरेको जनाएको छ।

कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत प्रहरी सबै एकाइमा सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग व्यवसायी, यातायात व्यवासायी, व्यापारी, समाजसेवी, विद्यालय तथा बजार व्यवस्थापन समितिका सदस्य, प्रहरी तथा अन्य कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, नागरिक समाज तथा सरोकारवाला सबैसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलनलाई तीव्रता दिएको जनाएको छ।

प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी एकाइबाट आधारभूत सुरक्षा सचेतना, अपराध अनुसन्धान र रोकथाम, अपराध अनुसन्धान र रोकथाममा सरोकारवाला निकायबाट उपलब्ध हुन सक्ने सहयोग तथा प्राप्त गर्न सकिने भौतिक स्रोतसाधनहरू, लागुऔषध ओसारपसार तथा दुर्व्यसनी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आत्महत्या नियन्त्रण, अवैध मदिरा सेवन तथा नियन्त्रण, नागरिकमैत्री प्रहरी व्यवहार, प्रहरी सेवामा थप सहजीकरणलगायत नागरिकको प्रत्यक्ष जनजीविकासँग जोडिएको विषयहरूमा सुझाव संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए।

कार्यक्रम जिल्ला प्रहरी कार्यालयहरू, मातहत इलाका र चौकी स्तरसम्म सुरक्षा अन्तरक्रिया गरी सुझाव लिने कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ। अहिलेसम्म कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा १५, जाजरकोटमा १४, हुम्लामा २, रुकुम पश्चिममा १५, दैलेखमा १२, डोल्पामा २, कालिकोटमा १४, सल्यानमा १६, जुम्लामा ५, मुगुमा १४, नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले १२ वटा स्थानहरूमा सुझाव संकलन भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अब कार्यक्रम हुन बाँकी स्थानमा पनि संकलन गर्ने कार्य भइरहेकोले विधिवद् रूपमा सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान सुरु गरिने प्रवक्ता श्रेष्ठले बताए। त्यसैगरी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण, कर्णाली प्रदेश प्रहरी गण लगायतका विभिन्न कार्यालयहरूबाट प्रत्यक्ष छलफल तथा अन्तरक्रिया, सुझाव पेटिका, पत्राचार, सामाजिक सञ्जालको माध्यमबाट सुझावहरू संकलन गरिएको जनाईएको छ। हालसम्म कर्णाली प्रदेश भरीका १ सय २१ स्थानहरूमा करिब ४ हजार जना आमनागरिकहरूबाट सुझाव संकलन गरिएको छ।

सुझाव संकलन कार्यक्रमबाट प्राप्त भइसेकका सुझावहरूलाई अब छिटै नै कार्ययोजना निर्माण गरी लागु गरिने कुरा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले बताए। यस अभियानबाट कर्णाली प्रदेशमा रहेको सुरक्षा व्यवस्था अझ बढी सुदृढ भई थप प्रभावकारी, समयसापेक्ष, गुणस्तरीय हुने डिआईजी ढकालको भनाई छ। 

प्रकाशित: ३ चैत्र २०७९ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App