१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यतीको विमान दुर्घटना जाँचबुझ आयोगः म्याद ४५ दिन थप

यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ। आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको हो।  

काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यतीको विमान १०ः५७ मा पोखराको सेती नदी खोंचमा खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो, जुन नेपाली आन्तरिक उडानमा हालसम्मकै ठुलो दुर्घटना हो।  

यो दुर्घटनापछि सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समय दिइएको थियो। आयोगका सदस्यमा अवकाशप्राप्त हवाईविज्ञ उपरथी दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन (पाइलट) सुनिल थापा र हवाई मर्मत इन्जिनियर एकराजजंग थापा तथा सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

आयोगलाई उक्त दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ । त्यसपछि आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर (एफडिआर) र ककपिट भ्वाइस रेकर्डर (सिभिआर) डाटा विश्लेषण गरेको थियो। आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र युरोपियन संघ उड्डयन सुरक्षा एजेन्सीका प्रतिनिधिसमेत बसेर एफडिआर र सिभिआर डाटाको प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो । विश्लेषणपछि माघ २३ गते आयोगले प्रारम्भिक रूपमा विमानका दुवै ‘प्रोपेलर फेदर’मा गएकाले दुर्घटना भएको हुन सक्ने जनाएको थियो।  

त्यसपछि फागुन ३ गते आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको  थियो । प्रतिवेदनमा एफडिआर र सिभिआरमा रेकर्ड भएको विमानसम्बन्धी विवरण आयोगले सार्वजनिक गरेको थियो।  

प्रारम्भिक प्रतिवेदनअनुसार विमान उडानको सुरुदेखि नै कोपाइलट अन्जु खतिवडाको बायाँपट्टिको सिटमा बसेर ‘कमान्ड’ गरेको पाइलट कमल केसीले सघाइरहेका (पाइलट मोनिटरिङ गरिरहेका) थिए । विमान पोखरा विमानस्थलनजिकै पुग्दा नियमितझैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले पूर्वतर्फको प्रवेश बिन्दु ‘रनवे ३.०’ बाट अवतरणका लागि आग्रह गरेको थियो । त्यसपछि पाइलट केसीले कोपाइलट अन्जुलाई पश्चिमतर्फको ‘रनवे १.२’बाट अवतरण गर्न सिकाउने उद्देश्यले सोही रनवे मागेका थिए, जसलाई एटिसीले समेत अनुमति दिएको प्रतिवेदनमा उल्लेख छ।  

विमान काठमाडौंबाट उडान भरेको १९ मिनेटमा पोखराको आकाशमा प्रवेश गरिसकेको थियो । विमानस्थलको आठ किलोमिटर पर एटिसीले समेत उक्त विमान देखेको प्रतिवेदनमा उल्लेख छ। सोही समयमा विमान समुद्र सतहदेखि ६ हजार ५ सय फिट उचाइबाट झर्ने क्रममा रहेको देखिएको छ।  

पोखरा छिरेको पाँच मिनेटपछि विमानको गति घटाउन प्रोपेलर फ्ल्यापलाई १५ मिनेटमा झारेको र ल्यान्डका लागि पांग्रासमेत झरिसकेको अवस्थापछि  समस्या देखिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। पाइलट केसीले विमान अवतरणका क्रममा कोपाइलट अन्जुलाई ‘फ्ल्याप्स’ ३० डिग्रीमा राख्न भनेको सिभिआरमा देखिए पनि एफडिआरमा भने उक्त कुरा नभेटिएको उल्लेख छ।  

प्रतिवेदनअनुसार त्यसैबेला जहाजका दुवै इन्जिनका प्रोपेलरहरूको गति ८० बाट एकाएक २५ प्रतिशतभन्दा कममा झरेको र इन्जिनको पावर पूर्ण रूपमा घटेपछि पहिलोपटक सावधानीको संकेत बजेको थियो ।  

तर दुवै क्याप्टेन विमान अवतरणकै तयारीमा हुन्छन्। यसै क्रममा दोस्रोपटक सावधानीको संकेत बज्दा पनि त्यसलाई ध्यान नदिई ३० डिग्रीमा कोल्टे ढल्काउँदै फन्को मारेर अवतरण गर्न खोज्दा अन्जुले केसीसँग ‘घुमाऊँ कि नघुमाऊँ’ भनेर सोधेको र केसीले ‘जारी राख्न’ भनेको सिभिआरमा रेकर्ड रहेको विवरणमा उल्लेख छ। तर इन्जिनबाट पावर नआएपछि पावर लिभरलाई अधिकतम ६२ डिग्रीमा राख्दा पनि पावर बढ्दैन बरु इन्जिन र प्रोपेलरको सम्बन्ध विच्छेद भएको प्रतिवेदनले जनाएको छ। त्यसपछि क्याप्टेनद्वयले सिट चेन्ज गरेर क्याप्टेन केसीले कमान्ड सम्हालेको तर उनको प्रयास पनि असफल भएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ। क्याप्टेनद्वय यही सेरोफेरोमा झुक्किएको हुन सक्ने भन्दै यसैभित्र दुर्घटनाको कारण लुकेको प्रतिवेदनले आशंका गरेको छ।

प्रकाशित: २ चैत्र २०७९ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App