१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सकियो नगरकोट सडकको नवौँ पटकको म्याद, सडकको दुरावस्था यथावत्

भक्तपुरको नगरकोट सडक विस्तार योजनाको नवौँ पटकको म्याद थप सकिएको छ। म्याद थप अनुसार ठेकेदार कम्पनीले फागुन मसान्तभित्रमा सडक विस्तार कार्य सम्पन्न गरी सक्नुपर्ने थियो।

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। दुई वर्षभित्रमा सकाउने गरी सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। तर सडक निर्माण सुरु भएको नौ वर्ष हुँदा पनि सडक भने जस्ताको तस्तै देखिन्छ। सडक विस्तारको ठेक्का भारतको आराभाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले पाएका थिए।

नवौँ पटकको म्याद थप सकिएर नौ वर्ष भए पनि सडकको अवस्था भने जस्ताको तस्तै छ। सडक दुरावस्थामै छ। सडक अहिले पनि वर्षामा र हिँउदमा हिलाम्य नै हुने गरेकाे छ। सडक हेर्दा अहिले पुनर्निर्माण सुरु गर्नुपर्ने अवस्थामा रहेको जस्तो देखिन्छ। भक्तपुरको कमल विनायक भत्केको पाटीदेखि नगरकोट बसपार्कसम्मको सडक खण्डमा कहीँ कतै माटे सडक छ भने कहीँ कतै ग्राभेलिग गरिएको अवस्थामा छ।

सडकको सवैतिर खाल्डाखुल्डी भरिएका छन्। एक किलोमिटरको दुरीसम्म पनि राम्रो सडक कहीँ कतै देखिँदैन। यद्यपि ठेकेदार कम्पनीले भने ९५ प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ। कम्पनीका म्यानेजर अनुप अधिकारीले ९५ प्रतिशत काम सम्पन्न भएको र यही महिनाभित्र सडक सम्पन्न गरी सडकलाई हस्तान्तरण गर्ने रहेको बताउँछन्।

सम्झौताको नौ वर्षसम्ममा पनि सडकको काम नसकेपछि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले फागुन १८ गते सडकको अवस्था बुझ्न अनुगमन गरेका थिए। त्यस बेला पनि स्थानीयले ठेकदारमाथि कारबाही गरी नयाँ ठेकेदारलाई काम सुम्पिन स्थानीयले माग गरेका थिए।

सम्झौता अनुसार काम सम्पन्न नगरेको भन्दै स्थानीयले मन्त्रीलाई घेराउसमेत गरेका थिए। स्थानीय गोविन्द बास्तोलाले सडकका कारण मृत्युदेखि अनेक समस्या हुने गरेको दुःखेसो पोखे। सडककै कारण स्थानीय बास्तोला टोलका एक जना छिमेकीको मृत्यु भएको भन्दै असारमा हिलामय हुने र हिउँमा धुलाम्मे सडकले नौ वर्षदेखि हैरानी खेप्दै आउनुपरेको दुःख बिसाए।

अर्का स्थानीय पार्वती बास्तोलाले क्षेत्रको नगरपालिकामा पहिला एमालेका मेयर सोम मिश्रले जितेको, पछिल्लो पटक कांग्रेसका मेयर जीवन खत्रीले मेयर जितेको तर कसैले पनि केही पनि नगरेको आरोप लगाइन्। यसका लागि रवि लामिछाने, बालेन शाह नै आउनुपर्छ भन्दै स्थानीयले ठेक्का तत्काल तोडेर नयाँ ठेकेदारलाई ठेक्का दिनुपर्ने माग राखे।

भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम सुरु भएको थियो।

प्रकाशित: १ चैत्र २०७९ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App