२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा वन व्यवस्थापन अध्ययन गरिंदै

डढेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ। २०६५ सालमा लागेको डढेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए। डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपात समेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो परीक्षण गरेको हो।

समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ।

गतलाङ पाखामा विज्ञले गरेका सिफारिसका आधारमा वनस्पति रोपण गरिने जानकारी दिदै डिभिजन वन अधिकृत अनिल रेग्मीले १० सामुदायिक वनमा भने प्राकृतिक रूपको पुनःउत्पादन गराउन विशेष संरक्षणको व्यवस्थापन गर्न लागिएको बताए।

डढेलोको चपेटाकै कारण गतलाङ पाखामा २५-३० हजारभन्दा बढी ठूलाठूला सल्लाको बोट नष्ट भएका छन्। नडढेका रूख व्यवस्थापन गर्न वन उपभोक्ता समितिले पहल गरिरहेको छ।

दीर्घकालीन सोच नहुँदा विगत वर्ष रोपण गरिएका अधिकांश टिमुरका बिरुवा नोक्सान भइसकेकाले भावी दिनमा रोपण गर्नुपूर्व नै चौपायाका लागि छेकाबारको व्यवस्थाप्रति विशेष ध्यान दिन वृक्षरोपण गर्ने सबै निकायसामु अधिकृत रेग्मीले अनुरोध गरे।

यस्तै हिउँद याम सुक्खा मौसममा अचानक लाग्ने डडेलो नियन्त्रणमा सहज पार्न र वनयजन्तुलाई पानीको आपूर्ति व्यवस्थापन मिलाउन डिभिजन वन कार्यालय रसुवाले यस वर्ष गतलाङ तथा डाडागाउँका जंगलमा एकएकवटा पोखरी बनाउने गृहकार्य अगाडि बढाएको छ।

डढेलो लागेको गतलाङ पाखामा कुहिएको काठ व्यवस्थापनपछि विज्ञको सिफारिसका आधारमा स्थानीय हावापानी सुहाउँदो बिरुवा रोपण गरिने वन प्राविधिकले बताएका छन्।

यसैगरी स्थानीय बासिन्दाले मसलाका रूपमा प्रयोग गर्ने टिमुर रोपणलाई प्राथमिकता दिने नीतिअनुरूप जिल्ला वन कार्यालय रसुवाले बहुवर्षीय रूपमा २० हजार टिमुरका बिरुवा उत्पादन एवं वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १ चैत्र २०७९ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App