१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

वीरगन्जबाट सेटिङमा तस्करीः गाडीमै भित्रिन्छन् भन्सार छलीका सामान

फागुन २८ गते प्रहरीले वीरगन्ज महानगरपालिका– १६ इनर्वाबाट भन्सार छली गरी ल्याइएको सामान बरामद गर्यो। त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका २ लाख २९ हजार मुल्य बराबरका कपडा रहेको र फागुन २९ गते वीरगन्ज भन्सारमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

फागुन १७ गते वीरगन्ज प्रहरीले वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट बिल बिजकभन्दा फरक सामान लोड गरिएको भारतीय नम्बरको पिकअप जिप नियन्त्रणमा लियो। बिल बिजकभन्दा बढी विभिन्न किसिमका करिब २५ लाख रूपैयाँका लत्ताकपडा बोकेको बिआर ०५ जिबी ९३२३ नम्बरको पिकअप जिप नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।  

फागुन ८ गते राति प्रहरीले वीरगञ्ज महानगरपालिका –१६ ईनर्वाबाट भन्सार छली गरी ल्याइएको कपडा बोकेको ना ७ ख ७९७७ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो। मालवाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाई उक्त फल्स बटममा करिब एक लाखको कपडा बरामद गरी ट्रकसहित २१ लाख ७ हजार ८ सय रूपैयाँ बिगोसहित फागुन १० गते प्रहरीले वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थियो।

फागुन ५ गते वीरगन्ज महानगरपालिका २५ सिर्सियाबाट प्रहरीले बिलबिजक भन्दा बढी मुल्यको विभिन्न किसिमका स्टेसनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्र्याक्टर नियन्त्रणमा लियो। ना ५ ख ५४९४ ट्र्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रकबाट बिल बिजकभन्दा बढी स्टेसनरी तथा खुद्रा सामान बरामद गरिएको थियो।

सामानसहित ट्रक र ट्र्याक्टरको ९२ लाख ४८ हजार ८ सय २२ रूपैयाँ मूल्यांकनसहित प्रहरीले सामानसहित ट्रक र ट्र्याक्टर फागुन ८ गते कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो।

माघ २८ गते वीरगन्ज महानगरपालिबा–२५ ड्रइपोर्टबाट प्रहरीले तस्करीको सामान रहेको आशंकामा दुईवटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लियो। वीरगन्जबाट काठमाडौं जाँदै गरेका ना ६ ख ४००६ र ना६ ख ४६०८ नम्बरको मालवाहक कन्टेन्टर लोड ट्रक नियन्त्रणमा लिएर जाँच गर्दा कन्टेनरमा सिलबन्दी नरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले कन्टेनर जाँच गर्दा दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रूपैयाँ मुल्य बाराबरको कपडा बरामद गरिएको थियो। सिलबन्दी नभएको शंकास्पद अवस्थामा भेटिएका कपडासहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाइएको थियो।

सेटिङको नमूना

भन्सार कार्यालयसँगको सेटिङमा ट्रक, कन्टेनर, ट्र्याक्टर र जिपमा वीरगन्ज भन्सार क्षेत्रबाट भन्सार छली गरी मालसामान भित्रिनु नौलो होइन। भन्सार कार्यालयको मिलेमतोमा कम राजस्व बुझाउनुपर्ने मालसामानको प्रज्ञापनपत्र बनाएर बढी मुल्यको मालसामान पास गर्ने गरेको खुलेको छ।  

प्रशासनसहित प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१० स्थित स्विटमार्ट फुड इंडस्ट्रिजको गोदाममा शनिबार सिल गरेको छ। भन्सार कार्यालयसँगको सेटिङमा भारतबाट जुत्ताको सोल बनाउनमा प्रयोग गरिने बुटाएल रबर प्रज्ञापत्रमा उल्लेख गरी च्युइंगममा प्रयोग हुने गम बेस आयात गरेको सूचनाका आधारमा प्रहरीले गोदाम सिल गरी कागजपत्र नियन्त्रणमा लिएको छ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) कोमल शाहका अनुसार निरन्जन अग्रवाल सञ्चालक रहेको स्वीटमार्ट फुड इंडस्ट्रीजले ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिबृद्धी कर लाग्ने गम वेस पौने ५ रूपैयाँ मात्र भन्सार महसुल लाग्ने बुटाएर रबरको नामबाट आयात गरिएको छ। उनले भने, ‘वीरगन्ज भन्सारबाट विगत केही वर्षदेखि यसैगरी भन्सार राजस्व छल्दै आयात गर्दै आएको पाइएको छ।’ उद्योगबाट बरामद गरिएको मालवस्तुहरूको प्रज्ञापत्र देखाउन भनेपछि उद्योग सञ्चालक सम्पर्कविहीन बनेको एसपी शाहले बताए।  

च्युइंगममा प्रयोग हुने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट(मूल्य अभिबृद्धि कर) छलेर सरकारले जुत्ता उद्योगको सहुलियतको लागि भन्सार महसुल पौनो ५ रूपैयाँ मात्र तोकेको हालो आइसोबुटेन–आइसोप्रिरन( बुटाएल) रबरको नामबाट भन्सार कार्यालयसँगको मिलेमतोमा आयात गरेको पाइएको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिल्लाराज पन्थीका अनुसार स्विटमार्ट फुड इंडस्ट्रीजले प्रज्ञापत्रमा उल्लेख गरेको मालवस्तुभन्दा फरक मालवस्तु भित्रिएको विषयमा आन्तरिक छानबिन भइरहेको बताए। उनले भने, ‘कुनै बेला भन्सारका कर्मचारीले प्रज्ञापत्रमा उल्लेख गरिएको मालवस्तुलाई जाँच नै नगरी प्रज्ञापत्र मात्रै हेरेर मालवस्तु छाडिदिन्छन्। भुलबस यसो हुन गएको भन्दै उनी मिलेमतोलाई ढाकछोप गर्न खोजे। यस भन्सर कार्यालयबाट सेटिङमा न्युन बिजीकीकरण, एउटै प्रज्ञापत्रमा पटकपटक मालवस्तु आयात गर्ने उल्लेखित विवरणबाट प्रष्ट हुन्छ।  

भन्सार छलीका मालवस्तु भित्रिने क्रम बढेपछि यस भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको फागुन २९ गतेसम्म वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली खराब स्थितिमा देखिएको छ। वीरगन्ज भन्सार मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार हो। फागुन २८ सम्ममा यो भन्सारले १ खर्ब ६६ अर्ब ७० करोड राजस्व उठाउने लक्ष्य थियो। जसमा १ खर्ब ७२ करोड मात्र राजस्व असुली भएको भन्सार कार्यालयले जनाएको छ। लक्ष्यको ६०.४ प्रतिशत राजस्व असुली भएको देखिन्छ।  

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउँछ। सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ।  

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिने गरेको प्रमाण हो यो। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पु¥याउने गरेका छन्।  

वीरगन्ज भन्सार कार्यालयका प्रमुख पन्थीका अनुसार यस भन्सारको राजस्वमा योगदान गर्ने मुख्य वस्तु नयाँ सवारीसाधन हो। तर सवारीसाधनको आयात करिब ठप्प रहेकाले लक्ष्य अनुरूपको राजस्व संकलन गर्न समस्या भइरहेको उनी बताउँछन्। ‘वीरगन्ज नाकाबाट राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तु नयाँ सवारीसाधन र इन्धन हुन्,’ उनले भने, ‘इन्धनको आयात नियमित रहेपनि नयाँ सवारीसाधनको आयात भने ठप्प प्रायः छ।’

प्रकाशित: ३० फाल्गुन २०७९ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App