१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पाथीभरा जाने तीर्थालुलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिस्थल पाथीभरा(मुकुम्लुङ) दर्शन गर्ने तीर्थालुको सम्भावित चापलाई मध्यनगर गर्दै हेल्थ डेस्क स्थापना गर्ने देखि सो क्षेत्रका होटलहरुमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाईमा शुक्रबार भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार अब पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरमा एक गरी दुईवटा थप हेल्थ डेस्क स्थापना गरिने छ। 

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधि सहितको हेल्थ डेस्क गरेको छ। पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जिल्ला अस्पताल,नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्म सहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी सुनाए। तीर्थालुलाई मन्दिर क्षेत्र र त्यहाँको आवास प्रवन्ध सहितको जानकारी दिन सदरमुकाम फुङलिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी समेत गरिएको छ।

यसका लागि पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले अगुवाई गरी अन्य सरोवारवाला निकायसंग छलफल गरी अन्तिम निश्कर्ष निकाल्ने भएको छ। त्यहिँ सूचना केन्द्रमार्फत होटल व्यवसायी संघसंगको सहकार्यमा पाथीभरा क्षेत्र र सदरमुकाम फुङलिङका होटलहरुमा आगन्तुकको क्षमता र उनीहरुले राख्न सक्ने पाहुनाको दैनिक लगत तयार गर्ने योजना अघि सारिएको छ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले तीर्थालुलाई समस्या बेगर मन्दिरको दर्शन र फर्कन पाउने वातावरणका लागि संयुक्त सहकार्यमा योजना अघि सार्ने निश्कर्ष निकालिएको जानकारी दिए।

पाथीभरा क्षेत्रका होटल व्यवसायी समेतको उपस्थितिमा सो क्षेत्रमा खाना र आवास खर्च बापतको सहुलियतपूर्ण दर समेत निर्धारण गरिएको छ। निर्णय अनुसार अब काफ्लेपाटीमा सादा खानको मूल्य जनही २ सय ५०,तेर्सेमा २ सय ७५ र माथिल्लो फेदीमा ३ सय रुपैयाँ निर्धारण गरिएको छ। ‘कमन’रुपमा बस्ने जनही ५ सय रुपैयाँ र कोठा लिने भए २ बेडको १ हजार र १ बेडको ५ सय रुपैंया निर्धारण गरिएको छ।

पाथीभरा क्षेत्रको दर्शनका लागि आउने जाने तीर्थालुको यातायात सुबिधालाई व्यवस्थित गर्ने र सवारी आवागनमा समस्या सृजना हुन नदिने गरी यातायात व्यवसायीले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्। ट्राफिक व्यवस्थापनमा समस्या नआउने गरी यात्रुको सहजताका लागि तयारी थालिएको जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए। पाथीभरा क्षेत्रमा रामनवमी,चैते दशैं,नवरात्री,वडादशैं र तिहार लगायतका बेला बढी तीर्थालुको बढी चाप हुने गर्छ।  

प्रकाशित: २६ फाल्गुन २०७९ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App