जेठी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर मोरङ बेलबारी नगरपालिका–१ नक्सालबारीका हेमकर्ण महत फरार भएका छन्।
५३ वर्षीय देवी महतलाई उनकै श्रीमान ५७ वर्षीय हेमकर्ण महतले हत्या गरी फरार भएको मोरङ प्रहरीले जनाएको छ। बिहीबार दिउँसो हेमकर्णले आफ्नी जेठी श्रीमती देवी महतको हत्या गरी फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
घरायसी विवाद हुँदा हेमकर्णले मासु काट्ने ‘दाउ’ प्रहार गरी देवीको हत्या गरी फरार भएको बताउँदै, प्रवक्ता कार्कीले भने, ‘घर नजिकै रहेको विवाहमा जान रोक लगाएपछि देवी र हेमकर्णको विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हेमकर्णले श्रीमती देवीको टाउ र दाहिने हातमा दाउ प्रहार गरी चोट रहेको देखिन्छ।’
हेमकर्णका २ वटा श्रीमती छन्। जेठी श्रीमती मृतक देवी हो भने कान्छी पवित्रा भन्ने मञ्जु महत हुन्। दुवै श्रीमती सहोदर दिदीबहिनी नाताको रहेको प्रहरीले बताएको छ। कान्छी श्रीमती मञ्जु ३ वर्ष अघि बेलबारी छाडेर सुन्दरहरैँचाको विराट चोकमा बस्दै आएकी छन्। हेमकर्ण र देवी बेलबारीमै मासुको पसल सञ्चालन गर्दै आएका थिए।
घर नजिककै आफन्तको घरमा विवाह कार्यक्रम थियो। सो विवाहमा कान्छी श्रीमतीसमेत आएकी थिइन्। हेमकर्णकी कान्छी श्रीमती त्यस विवाहमा आएको थाहा पाएपछि जेठी श्रीमती देवीले श्रीमानलाई जान रोक लगाएपछि विवाद बढ्दै गएको र त्यसपछि देवीको हत्या गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ। फरार भएका हेमकर्णको खोजी कार्य तीव्र पारिएको र उनलाई पक्राउ गरेपछि घटनाको यथार्थ बाहिर आउने प्रवक्ता कार्कीले जानकारी दिए।
जेठी पट्टीका छोरा सुजन भन्ने पदमबहादुर महतले बुवा हेमकर्णविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा जोहरी दिएका छन्। उनले जाहेरीमा बुवाले २० वर्षदेखि ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको उल्लेख गरेको छन्। मृतक देवीको शवलाई पोष्टमार्टका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। पोष्टमार्टमको रिपोर्टका साथै फरार रहेका हेमकर्ण पक्राउ परेपछि घटनाको थप विवरण बाहिर आउने प्रवक्ता कार्कीले बताए।
प्रकाशित: २६ फाल्गुन २०७९ १२:५३ शुक्रबार