२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘एउटा सिसिटिभी क्यामेरा जडान अभियान’

कोहलपुर क्षेत्रमा रातिको समयमा हुने दुर्घटना र चोरीका घटनामा अनुसन्धान गर्न प्रहरीलाई हम्मेहम्मे हुन्थ्यो। नगर क्षेत्रमा लगाइएका क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा अपर्याप्त हुनु र भएकाले पनि काम नगर्दा प्रहरीलाई घटनाबारे सुरुको अवस्था पत्ता लगाउन कठिन छ। प्रहरी लामो अनुसन्धानपछि मात्र घटनाको यथार्थसम्म पुग्छ। यस्तो अवस्थालाई ध्यानमा राखी इलाका प्रहरी कार्यालय कोहलपुरले अभियान थालेको छ।

‘सुरक्षित कोहलपुरका लागि एउटा सिसिटिभी क्यामेरा’ अभियान सोमबारदेखि सुरु गरेको छ। यस अभियानलाई इलाका प्रहरी कार्यालय कोहलपुरले सुरक्षाको एउटा अंग मानेको छ। अभियानको मुख्य लक्ष्य नगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण जस्ता अनधिकृत क्रियाकलापमाथि नियन्त्रण गर्नु रहेको प्रहरीले जनाएको छ।

यस अभियानअन्तर्गत सुनचाँदी व्यवसायी, बैंक तथा वित्तीय संस्था, मार्ट, होटेल, उद्योगहरूलाई एउटा क्यामेरा सडक क्षेत्रतिर फर्काउन अनुरोध गरिनेछ। यसका लागि प्रहरीले समन्वय गरिरहेको छ। कोहलपुर क्षेत्रलाई थप सुरक्षित बनाउन र यहाँको अपराध न्यूनीकरणका लागि उक्त अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले बताए। ‘सिसिटिभी क्यामेरा नहुँदा घटनाको यथार्थ पत्ता लगाउन समस्या भएको छ,’ उनले भने, ‘कति सरकारकै मात्र मुख ताकेर बस्ने। नागरिक तथा व्यावसायिक दायित्व निर्वाह गर्न र गराउन व्यवसायीसँग समन्वय गर्न थालेका छौं।’

अभियानमार्फत कोहलपुर सहर क्षेत्रभित्र करिब तीन सयभन्दा बढी सिसिटिभी क्यामेरा जडान हुने अपेक्षा गरिएको छ। केही व्यवसायीले भने सडकतिर सिसिभिटी फर्काउन सुरु गरिसकेका छन्। व्यवसायी, उद्योगीहरूसँग समन्वयन गरेर काम गर्दा अपराध न्यूनीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘यसरी जाँदा व्याकपको पनि समस्या हुँदैन। नेटवर्क पनि समस्या समाधान हुन्छ,’ डिएसपी तिवारी भन्छन्, ‘जसले शान्त, सुरक्षित कोहलपुर बनाउन मद्दत पुग्छ।’

आपराधिक गतिविधिको निगरानी गर्न यस अभियानले सहयोग गर्ने अपेक्षा गरिएको छ। कोहलपुर क्षेत्रमा जडान गरिएको सिसिटिभी क्यामेराका कारण प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने स्थानीयको भनाइ छ। कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभी क्यामेराको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ। कुनै शंकास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता हटाउन क्यामेरा सहयोगी बन्ने प्रहरीले अपेक्षा गरेको छ। 

प्रकाशित: २६ फाल्गुन २०७९ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App