७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो पुल तेस्रो वर्ष लागिसक्दा पनि नबन्दा स्थानीयको खुसी निराशामा परिणत भएको छ। पुलको दुवैतिर थोरै मात्र पिलर उठाएर ठेकेदार कम्पनी गायब छ। तोकिएको समयमा काम सम्पन्न नगरे पनि कम्पनीलाई फेरि एक वर्ष म्याद थपियो तर ६ महिना बितिसक्दा पनि फिल्डमा निर्माणको काम अघि बढेको छैन।  

अहिले भोजपुरका जनतामा निराशा र आक्रोश मात्र छैन, ठेकेदार कम्पनी नै सम्पर्कविहीन भइदिँदा निर्वाचित जनप्रतिनिधि जनतालाई जवाफ दिन नसक्ने अवस्थामा छन्। यो पुल प्रदेश सरकारअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयबाट ठेक्का लागेको हो। प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पुलको ठेक्का काठमाडौंको कालिका प्यासिफिक जेभीले हात पारेको थियो। कालिका प्यासिफिक जेभी राप्रपाका सांसद तथा हालै सरकारबाट हटेका मन्त्री विक्रम पाण्डेको कम्पनी हो। सरकारको मन्त्रीसमेत भइसकेका पाण्डेको कम्पनीले कस्तो काम गर्छ भन्ने उदाहरण यो पुललाई हेरे हुन्छ। पुलको शिलान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए। यो पुलका लागि भ्याटसहित २१ करोड २३ लाख १२ हजार ४ सय ७ रूपैयाँको ठेक्का सम्झौता भएको थियो। पुलको ठेक्का सम्झौता २०७७ असोज २१ गते भएको थियो भने २०७९ कात्तिक ४ गतेसम्ममा काम सम्पन्न गर्ने भनिएको थियो।  

समयमा काम नभएको र चौतर्फी दबाब बढेपछि दुई साताअघि फागुन १० गते निर्देशनालयले ठेकेदार कम्पनीलाई बोलाएको थियो। प्रतिनिधि आएर एक साताभित्र फागुन १७ देखि काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो। तर आइतबार भोजपुरबाट निर्वाचित सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती स्थलगत अनुगमनमा चुहार पुग्दा पुल निर्माणको काम भएको पाएनन्। निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण र इन्जिनियर लक्ष्मीप्रसाद सापकोटालाई लिएर चतराबाट मोटरबोट हुँदै मन्त्री किराती अनुगमनमा पुगेका थिए।  

मन्त्री किरातीले निर्माण कम्पनी पूर्वमन्त्री विक्रम पाण्डेको भएको थाहा पाएपछि तत्काल पाण्डेलाई फोन गरेर पुल निर्माणको काम तत्काल सुचारु गर्न आग्रह गरे। ‘यो पुल नबनेसम्म भोजपुरको आर्थिक विकास हुन सक्दैन, अहिले धेरै क्षति बेहोरिरहेको छ,’मन्त्री किरातीले भने, ‘यो हाम्रो लाइफलाइन हो। सबैले आआफ्नो ठाउँबाट पहल गरौं। म केन्द्रमा कस्छु। विक्रम पाण्डेलाई बोलाएको छु, म कुरा गर्छु। यसै वर्षभित्र बनाइसक्ने गरी काम अघि बढ्नुपर्छ।’

यातायात पूर्वाधार निर्देशनालय प्रमुख कर्णले पुलको आवश्यकता र महत्व सबैले आत्मसात् गरे पनि निर्माण कम्पनीबाट ढिलासुस्ती भइरहेको बताए। मन्त्रीले पनि पाण्डेलाई फोन गरेको र तत्कालै पुनः निर्देशनालयबाट पनि पत्राचार गरेर निर्माण सुचारु गर्न पहल गर्ने उनले बताए। ‘मन्त्रीज्यू आफैंले पूर्वमन्त्री पाण्डेलाई फोन गर्नुभएको छ। हामीले पनि पहल गरिरहेका छौं, फेरि पत्राचार गरेका छौं। शीघ्रताका साथ काम सक्न पहल गर्छौं,’ उनले भने।  

भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले पुल निर्माण नहुँदा कृषकको उब्जनी बजारसम्म पुर्याउन नसकी कुहिएर गइरहेको बताइन्। स्थानीयले पुल नबनेकै कारण जनप्रतिनिधिलाई बाटो छेकेर आक्रोश पोख्ने गरेको भन्दै उनले गम्भीरतापूर्वक काम गर्न आग्रह गरिन्। ‘यो पुल जसरी हुन्छ, बन्नु नै पर्छ,’उनले जोड दिइन्।  

हतुवागढीका रमेश हतुवाली चैत र वैशाखभित्र ठेकेदारले निर्माण सामग्री नलगेमा कात्तिकपछि मात्र सहज हुने बताउँछन्। जेठपछि वर्षा सुरु हुने र बाटो हिलाम्य भएर सामग्री ढुवानी हुनै नसक्ने उनले बताए। ‘जेठपछि वर्षाले बाटो हिलो हुन्छ र सामान ढुवानी हुन सक्दैन। कात्तिकपछि मात्र बाटो खुल्छ, यसरी त ६ महिनामा कसरी पुल बन्छ?’ उनले भने। यो पुल निर्माण भएपछि खोटाङको चिसापानी, भोजपुरको सदरमुकाम र दिङ्ला हुँदै संखुवासभासम्म यातायातमा सहज हुने उनले बताए।  

प्रकाशित: २३ फाल्गुन २०७९ ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App