६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कोशी राजमार्ग विस्तार गर्न ७२ र ८० फिट मापदण्डमा नापजाँच

मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरु आफै सडक नाप्दै

धरानका मेयर हर्क साम्पाङल र वडाअध्यक्षहरु कोशी राजमार्ग विस्तारको लागी आफै नापजाँच गर्दै। तस्बिर : रोहित राई

कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।

मेयर हर्क साम्पाङसँगै कोशी राजमार्गसँग जोडिएको वडाका वडाअध्यक्षहरुले आइतबार तीनकुनेदेखि भानुचोकसम्म सडक नापजाँच गरेका हुन्। उनीहरुले ७२ फिट र ८० फिट गरेर दुई मापदण्डमा सडक नापजाँच गरेका छन्। धरानको बजार क्षेत्रमा ठुलो क्षति हुने भएकोले कोशी राजमार्गको ६ लेन सडकलाई बाइपास गर्नुपर्ने स्थानीय एवं प्रभावित घरजग्गाधनीहरुको माग छ भने अन्यले बजार क्षेत्रबाट नै ६ लेन विस्तार गरेर लैजानुपर्ने माग गरिरहेका छन्। ६ लेन सडक कताबाट लैजाने भन्ने बहस टुंगोमा नपुग्दै आइतबार उपमहानगरले ७२ र ८० फिटको मापदण्डमा सडक नापजाँच गरेको हो।

रानी विराटनगर, इटहरी धरान सडक आयोजनाले राइट अफ वे २५/२५ मिटर अर्थात १०० फिट बाटोको साइट क्लियरेन्स गर्न धरान उपमहानगरपालिकालाई पत्राचार गरेको थियो। उपमहानगरले भने तीनकुनेदेखि भानुचोकसम्म ७२ फिट सडक विस्तार गर्न भन्दै आयोजनालाई पत्राचार गरिसकेको छ। मेयर साम्पाङ बजार क्षेत्रमा अरबौंको भौतिक क्षति पुग्ने र त्यसवापत मुआब्जा दिन सम्भव नभएकोले ७२ फिट मात्र सडक विस्तार गर्नुपर्ने पक्षमा छन्। आइतबार सडक नाप्दै गरेको बेला उनले भने,‘अहिले ७२ र ८० फिट बनाउदा कति घरमा क्षति हुन्छ भनेर स्थलगतरुपमा नै नापजाँच गरेका हौं। क्षतिको अवस्था हेरेर ठोस निर्णय गछौं।’

धरानको तीनकुनेदेखि भानुचोक नजिकै पुरानो कर कार्यालयसम्म ७२ फिट मापदण्ड अनुसार नै सडक रहेको छ। त्यहाँसम्म ८० फिट बनाउदा पनि क्षति ठुलो हुने देखिदैन। तीनकुनेदेखि जिरोपोइन्टसम्म कोशी राजमार्गले वडा ८, १५, ७, १२, २, १ र १३ वडालाई छोएको छ। तीनकुनेदेखि भोटेपुलसम्म वडा नं ८ को क्षेत्रमा ८० फिटसम्म सडक बढाउन सकिने वडाअध्यक्ष धनबहादुर राईले बताए। उनले भने,‘हाम्रो वडामा ८० फिटसम्म बनाउदा हुने रहेछ। अब सम्बन्धित घरजग्गाधनीसँग कुराकानी गछौं।’

भानुचोकसम्म नापजाँच गर्दा कसैको पनि घर भत्किएर सुकुम्बासी हुने स्थिति नदेखिएको मेयर साम्पाङले बताए। केही घरहरुको एउटा पिलर वा आधा जति मात्र क्षति हुने देखिएकोले विकासको लागी जनताले त्यति त्याग गर्नुपर्ने उनले बताए। ‘हामीले ७२ र ८० को दुई वटा मापदण्डमा नापेका छौं। त्यो दुईमध्ये एउटा लागुहुन्छ,’मेयर साम्पाङले भने,‘हामीले जुन मापदण्डमा निर्णय गरेर बढाउछौं, अब त्यति नै अन्तिम मापदण्ड रहन्छ। त्यो भन्दा बढी चाहियो भने फ्लाईओभर बनाउने वा अन्य गर्ने हुन्छ। हामीले पनि सहयोग नगरि केन्द्र सरकारले पनि धमाधम बनाउने कुरा हुदैन।’

६ लेन सडक विस्तार हुदा वडा नं २ र १२ मा पर्ने भानुचोक क्षेत्रको मुख्य बजारमा भने ठूलो भौतिक क्षति हुन्छ। संघर्ष समितिका अनुसार तीनकुनेदेखि जिरोपोइन्टसम्मको ५ किलोमिटर सडकमा ६ लेन सडक(२०४ फिट) विस्तार हुदा ४६ अरब हाराहारीमा भौतिक सम्पत्ति क्षति पुग्छ। उक्त क्षेत्रमा कम्तीमा पनि १५ सय घरहरु भत्काउनुपर्ने हुन्छ। त्यसैले संघर्ष समितिको प्रमुख माग ६ लेन सडकलाई बाइपास गर्नुपर्ने रहेको छ। भानुचोकदेखि उत्तरतर्फ मुख्य बजार क्षेत्रमा हाल ५० फिट मापदण्डमा मात्र घरहरु बनेका छन्।

वडा नं २ का वडाअध्यक्ष रमेश राई ६ लेन सडक बढाउदा धेरै नै क्षति पुग्ने र जनताको उठिबास हुने भएकोले मध्यमार्गी बाटो अपनाएको बताए। उनले भने,‘जनताको सम्पत्ति पनि जोगाउदै बाटो पनि विस्तार गर्नुपर्ने छ। अहिले हामी त्यसैमा लागेका छौं। मेयर ज्यू र हामी मिलेर नै धरान बनाउने हो।’

प्रकाशित: २१ फाल्गुन २०७९ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App