३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

लोप हुँदै होलीका परम्परागत शैली र स्वरूप

होलीको परम्परागत स्वरूप र शैली लोप हुँदै गएकोमा समाजमा चिन्ता व्यक्त गरिन थालिएको छ। होलीको परम्परागत स्वरूप र शैली लोप हुँदै जाँदा आगन्तुक होली देखिन थालेको र प्रदर्शनमा होली सीमित हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।

नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले परम्परागत होली लोप हुने अवस्थामा पुगेको र पहिलेको जस्तो होलीको मौलिकता अब केही पनि बाँकी नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सहर बजारमा होलीको दिन मात्र मौलिक रहेको र बाँकी सबै कुरा परिवर्तन भएर आगन्तुक संस्कृतिको भइसकेको भन्दै गुनासो पोखेका छन्।

तराई मधेशमा फागुन पूर्णिमाको दिन होलिका दहन गर्ने र भोलिपल्ट होली खेल्ने चलन थियो जुन आजसम्म छँदैछ तर पहिदलेका जस्ताे होली गाउँमा पनि नरहेको भन्दै समाजले होलीको मौलिकता जोगाउन नसकेको बताउँछन्।

सर्लाहीको बलरा नगरपालिकाको छतौना गाउँका करिब ७४ वर्षीय साहित्यकार मनमोहन सिंह मनोहरले होलीको हार्दिकता र मौलिकता हराइसकेको र अब होलीको बोक्रामा नयाँ वस्तु भरिएको भनी चिन्ता र व्यङ्ग्य एक साथ प्रकट गर्दछन्। होलीको मौलिकता हराउँदै गएर अब अबिर दल्ने, मासु र रक्सी खाने तथा डिजेमा बलजफ्ती नाचेको अभिनय गर्ने संस्कृतिको विकास भएको बताउँछन्।

सर्लाही र रौतहटमा पहिले डम्फू, झिर, झाल बजाएर ढोलकको तालमा गाइने होलीका हजारौँ गीत अहिले हराइसकेकोमा चिन्ता व्यक्त गर्दै साहित्यकार मनोहरले होलीको आफ्नो मौलिक धुन र नृत्य करिब लोप भइसकेको बताउँछन्। होलीलाई बजारीकरण गर्ने, होलीबाट फाइदा लिने तर होलीको मौलिक संस्कृति जोगाउनतिर कसैको ध्यान नगएको साहित्यकार मनोहर बताउँछन्।

संस्कृति र समाजको प्रवृत्तिको क्षेत्रमा तिन दशकदेखि कलम चलाउँदै आएका पत्रकार तथा साहित्यकार सञ्जय साह मित्रले होली मिलन समारोहको औपचारिकताले होलीको मौलिक संस्कृतिलाई विदेशी शैलीमा स्टेजमा सीमित गरेको बताउँदै होलीको मौलिक स्वरूप र शैली लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। साहित्यकार मित्र भन्छन् – होलीको मौलिक स्वरूप र शैली जोगाउन वर्तमान पुस्ता असक्षम बन्दा होलीको वास्तविक स्वरूप नै खतरामा परेको छ।

होलीको गीत पहिले सरेहमा सर्वसाधारणले श्री पञ्चमी भएसँगै गाउन सुरु गर्दथे र होलीको दिनसम्म गाइरहन्थे। गाउँमा डम्फू र ढोलकको तालमा होलीको नृत्यमा गाउँ नै झुम्मिएको पाइन्थ्यो तर आजभोलि होली केवल औपचारिक मात्र भएकोमा सबै क्षेत्रबाट चिन्ता व्यक्त गरिएको छ।

होलीको भेष भूषा, हास परिहास, होलीको गीतमा पाइने व्यङ्ग्य तथा सामाजिक सम्मिलन बिस्तारै निकै पातलो भइसकेको भन्दै समाजमा चिन्ता व्यक्त गरिन थालिएको छ। होलीको मौलिकता हराउँदै गएर डिजेमा सीमित भएको हुँदा डिजे संस्कृतिले होलीलाई बरालिरहेको आरोप संस्कृति प्रेमीहरूले लगाएका छन्।

प्रकाशित: २० फाल्गुन २०७९ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App