२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

होलीको रौनकभित्र प्रेमकहानी

संस्कृति

नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो। यस पर्वमा उँचनिच, धनीगरिब र जातजातिको पनि भेदभाव हुँदैन। सबैले समान रूपमा सहिष्णु एवम् स्वछन्द तरिकाले हर्ष र उमङ्गका साथ मनाउने गरिन्छ होली। वर्षौंसम्म मनमुटाव भई बोलचालसमेत नभएका साथीभाइ, इष्टमित्रसमेत यस पर्वमा होली खेल्ने र शुभकामना आदानप्रदान गर्ने सन्दर्भमा एक आपसमा पुराना रिसराग बिर्सेर रंगीन अबिर लगाई दिँदै मिठाइँ आदि परिकारको आदानप्रदान गरेर मनाउने गर्छन्। आपसी मेलमिलापलाई पुनर्जीवन दिन्छन्। एक किसिमले सबैको मिलन बिन्दु भने पनि हुन्छ होली पर्वलाई।

वसन्त ऋतुको आगमनसँगै आउने यस होलीको महोत्सव पारेरै प्रकृति पनि जवानीको मस्तीमा झुमिरहेको हुन्छ भने यस हरियाली वसन्तीमा सम्पूर्ण कीटपतङ्ग, पशुपन्छी समेत प्रेमालापमा रमाइरहेका हुन्छन्। कोइलीको कुहु, मधुरो कण्ठ ध्वनिसँगै भवराहरूले पनि विभिन्न फूलका डालीमा सुम्दै प्रेमरसमय फूलको रसास्वादन गरिरहेका हुन्छन्। यस्तो वातावरणको आरम्भ त वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमीदेखि नै भइसकेको हुन्छ।

काठमाडाैं उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ। होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकमा दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर तीनतले चीर ठड्याइन्छ। चीर ठड्याएपछि होली सुरु हुन्छ। चीरमा रङ्गीचङ्गी कपडाका टुक्राहरू झुण्ड्याइन्छ। यो बेला गुरुजुको पल्टनद्वारा तोप पड्काएर हर्षबढाइँ गरिन्छ। अबिर छर्केर होली सुरु भएको जनाउ दिइन्छ। अनि पचिमा बाजा बजाई महादेवको स्तूति पनि गरिन्छ। चीर ठड्याउने काम काठमाडौंका धाला सिक्व टोलका साल्मीहरूले गर्छन्। यसको एउटा छुट्टै गुठी पनि छ। हनुमानढोका दरबारभित्रको मोहनकाली र दाख चोकमा पनि रङ्गीचङ्गी कपडा झुण्ड्याइन्छ। मयल रुखको हाँगा गाडेर पूजा गरिन्छ। मोहनकाली चोकमा हातमा मुरली लिइरहेका कृष्णको काठको मूर्ति र नौवटा विभिन्न मुद्रामा रहेका अर्धनग्न गोपिनीहरूको मूर्तिमा अबिर छर्केर पूजा गरिन्छ। पूर्णिमाका दिन बेलुका चीर ढालेर वसन्तपुरदेखि टुँडिखेलसम्म तानेर लगी चीर दहन गरिन्छ।

चीरदहन गरिसकेपछि एक मुरी चामलको भात र एउटा सिङ्गो राँगाको मासु पकाएर टुँडिखेलमा गुरुमापालाई खुवाउन लाने चलन पनि छ। काठमाडौंका बच्चाहरूलाई गुरुमापाले चोरेर खान्थे। यो कुरो बच्चाका आमा बाबुले इतुंबहालका केशचन्द्र तत्कालीन शासकलाई भने। केशचन्द्रको आदेश बमोजिम गुरुमापालाई समातेर ल्याइयो। गुरुमापालाई बच्चाहरूको सुरक्षा गर्नुपर्ने र टुँडिखेलमै बस्नुपर्ने कबुल गराइयो। यसको बदलामा गुरुमापालाई वर्षको एक पटक होली पूर्णिमाका दिन एक मुरी चामलको भात, एउटा सिङ्गो राँगाको मासु, जाँड, रक्सी र चौरासी व्यञ्जन बोकेर जाँदा जति सुकै गह्रौं भए पनि कतै बिसाउनु हुँदैन। यसरी लाँदा ‘झ्यासी नासी झ्यासी नासी’ बोल आउने गरी बाजा बजाउँदै लाने गरिन्छ। यसको पनि एउटा गुठी छ। गुठियारहरू सबै टुँडिखेलमा गएर गुरुमापालाई भात चढाइसकेपछि त्यहाँ भोज खाएर फर्की आउँछन्।

यसै गरी होली पूर्णिमाका दिन राधा र कृष्णले प्रणयपूर्वक होली खेलेको स्मरण गर्दै भक्तपुरस्थित चाँगुनारायण वंशगोपालको खट जात्रा तान्त्रिक विधिपूर्वक पूजापाठ गरेर राधा, कृष्ण र रुक्मिणीका राम्रा मूर्तिसहित नगरपरिक्रमा गराइन्छ।

काठमाडौं उपत्यकामा प्रणय दिवसका रूपमा मनाइँदै आइरहेको होलीमा नेवाः जातिले गाउने लोकगीत यस्तो छ, ‘होलिया मेला मय्जु मस्यूला अबिर भचासां छ्यनय् तयाः हुँ। अबिरया होली तं चाया ला ल्यासे अबिर भचा तयेका बिस्यूं वना ला।’ अर्थात् होलीको मेला मैयाँ थाहा छैन र? अबिर अलिकता भए पनि शिरमा लगाई जाऊ। अबिरको होली रिसायौ कि मैयाँ अबिर अलिकता राखिदिँदा भागी गयौ कि। यसरी गीत गाउँदै होलीको मेला मनाउने क्रममा युवायुवतीबीच प्रेम हुने गर्छ।

यो नेवाः संस्कारकै रूपमा थियो। पहिला पहिला होलीको मेलामा युवकले आफूलाई मन पराएकी युवतीलाई प्रेम प्रस्ताव राख्थे। अहिले भ्यालेन्टाइन डेमा प्रेम प्रस्ताव राखेजस्तै। उपत्यकाका नेवार युवायुवतीले विभिन्न चाडपर्व र जात्राहरूमा प्रेम गर्थे। अहिलेजस्तो आफूले मनपर्ने ठाउँमा युवायुवती भेट्ने मौका मिल्दैनथ्यो। त्यसैले चाडबाडका बेलामा पूजा गर्न जाने युवती र देवता दर्शन गर्न जाने युवकबीच प्रेम पथ्र्याे। त्यस्तै जात्रा हेर्न जाने युवायुवतीका बीचमा पनि प्रेम प्रस्तावको आदानप्रदान हुन्थ्यो। होली पर्वको अवसरमा त झन् विशेष रूपले युवायुवतीले आफूले मन पराएकोसँग अबिर लगाई दिएर प्रेम प्रर्दशन गर्थे।

काठमाडौं उपत्यकाका कृषकहरू र तराईको मिथिलावासी कृषकहरूले आफ्नो मुख्य धानबाली भित्र्याइसकेपछि आमोद प्रमोदमा लाग्ने सन्दर्भमा मनाइने यो होली वा फागु दिल खोलेर हर्षोलासपूर्ण वातावरणमा प्रणय दिवसका रूपमा मनाई भरपुर मनोरञ्जन गरी मनाउने सन्दर्भमा फगुवा भरी माछा, मासु र मदिरा प्रशस्त खाने चलन रही आएको छ भने प्रायः धेरैजसोले भाङ र अन्य नसालु पदार्थको सेवन, विभिन्न मिठाइँका परिकारका साथै दुध, किसमिस, अलैंची, नरिवललगायतका मठ्ठा लस्सी खाने गर्छन् र मस्तीले झुम्ने गर्छन्। कामोत्तेजना बढाउने खालका यस्ता परिकार खाएर प्रेम प्रस्ताव गर्ने प्रचलन तराईमा प्रशस्तै पाइन्छ। यसमा युवायुवतीले समान रूपमा सहभागी भएका हुन्छन्। कामदेवले पनि यस समयमा मानिसमा कामवासना बढाउने क्रियाकलाप भइरहेको हुन्छ भन्ने मान्यता रही आएको छ। यस होली पर्वमा कामवासनालाई उत्तेजित पार्ने पर्वका रूपमा पनि लिँदै आएको पाइन्छ।

भगवान् श्री कृष्णको रास लीला पनि फागु पूर्णिमाकै समयमा भएको र श्री कृष्णले राधा र उनका सखीहरूसँग सहवासजस्ता सुखसयलको लीला गरी आनन्द लुटेका थिए भनिन्छ भने कदम्बको रुखमुनि कृष्णले गोपिनीहरूसँग होली खेलेका थिए। जनकपुरमा राम र सीताले पनि अबिर खेली फागु मनाएका थिए।

त्यस्तै परापूर्वकालदेखि मनाइँदै आइरहेको होली पर्वका बारेमा काठमाडौं उपत्यकामा विभिन्न भनाइ रहेको पाइन्छ। तीमध्ये एउटा भनाइमा ठमेलमा सिंहसार्थबाहु नाम गरेका एक व्यापारी थिए। उनी सातसय जना व्यापारीसहित ल्हासामा व्यापार गरेर फर्कंदै गर्दा ब्रह्मपुत्र नदीनेर आइपुग्दा सुन्दरी युवतीका भेषमा राक्षसनीहरूले आफ्नो जालमा पारे। ती सुन्दरी भेषधारी राक्षसनीहरूले सबैलाई आफ्ना आहार बनाए। तर सिंहसार्थबाहु बाँचेर आउन सफल भए। यसैको खुसीयालीमा वसन्तपुरमा चीर ठड्याएर आठ दिनसम्म सिन्दुर जात्रा गरी होली पर्व मनाइएको भनिन्छ। यिनै सिंहसार्थबाहुको प्रतीकका रूपमा चकंद्यः बनाएर जात्रा गर्ने चलन हालसम्म चलेको छ। ठुलो खालको ढलौटका मूर्तिलाई रंगीचंगी पारेर चकंद्यः बनाइन्छ। 

प्रकाशित: २० फाल्गुन २०७९ ०१:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App