७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

डोल्पाको ठूलीभेरी नगरपालिकाले अर्थिक अनियमितता गरेको भन्दै अख्तियारद्वारा मुद्दा दायर

डोल्पाको ठूलोभेरी नगरपालिकाको कार्यालय तस्बिर :नागरिक

डोल्पाको ठूलीभेरी नगरपालिकामा ब्यापक अनियमितता भएको पाइएको छ। एकै आर्थिक वर्षमा तिन वटा योजनाबाट धन्नै एक करोड रुपैँया अनियमितता भएको पाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७४/०७५ मा मात्रै तीन वटा सडक निर्माणका योजनाहरुमा अनियमितता भएको ठहर गरेको छ। अनियमितता भएका सडकहरुमा तलीकुला लादीछरा हुँदै जीउसम्म जाने मोटरबाटा, जुफाल–माँझफाल सडक र घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सव–इन्जिनियर विकास खत्रीलाई ती योजनामा भ्रष्टाचार गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो।

यस्तै, नगरपालिकाको योजना अनुगमन समितिका पदाधिकारीहरु काली सार्की, कर्ण बहादुर रोकाया, टोप बहादुर चन र निर्माण उपभोक्ता समितिका पदाधिकारीको संलग्नता रहेको उल्लेख छ। ती योजनामा भ्रष्टाचाजन्य कसूर ठहर भएपछि उनिहरूविरूद्व विशेष अदालतमा अख्तियारले मुद्दा दायर  गरेको हो। बिगो र कैद सजाय हुन माग दाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रकाशित विज्ञप्तीमा उल्लेख छ।  

 जुफाल–माझफाल मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयारी गरी ३२ लाख २९ हजार २ सय ७२ रुपैँया भ्रष्टाचार गरेको कसुर ठहर भएको छ। उनीहरुलाई सोही बराबरको रकम बिगो दाबी गरि कैद तथा जरिवानाको सजाय माग गरिएको छ। साथै, उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु काली सार्की, कर्ण बहादुर रोकाया, टोप बहादुर चनले समेत गलत प्रतिवेदन पेश गरेको भष्टाचार गरेको कसुरमा भ्रष्टाचार ऐनको दफा १९ को उपदफा २ वमोजिम सजाय हुन मागदाबी गरिएको छ।

सोही योजनाको उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड विक्रम शाही, कोषाध्यक्ष सुना कामी र सचिव टोप वहादुर शाहीले नगरपालिकासँग भएको शर्त एवं सम्झौता विपरित फिल्डमा काम नगरी भ्रष्टाचार गरेको कसुरमा ३२ लाख २९ हजार २ सय ७२ रुपैँया मागदाबी सहित ऐनको दफा ८(१) बमोजिम कैद तथा जरिवानाको सजाय माग दाबी गरिएको छ। उनीहरुले १९ लाख ८६ हजार ५ सय ७५ रुपैँया बैंकमा जम्मा गरिएको हुँदा जम्मा हुन विगो १२ लाख ४२ हजार ६ सय ९७ रुपैँया रहेको छ।

त्यस्तै तलीकुला लादीछरा हुँदै जीउसम्म मोटरबाटो निर्माण कार्यमा झुट्टा विवरण तयार गरी २० लाख ३० हजार १ सय १९ रुपैँया भ्रष्टाचार कसूर गरेको अख्तियारले ठहर गरेको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र सवइन्जिनियर शिवराज शाहीले झुट्टा विवरण पेश गरेको हुन्। उनीहरुबाट २० लाख ३० हजार १ सय १९रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ।

उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठूलीभेरी नगरपालिका –७ का तत्कालीन वडा अध्यक्ष डिल विक्रम शाहीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार कसूर ठहर गर्दै उनिहरुबाट २० लाख ३० हजार १ सय १९रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ। उक्त योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष मानसिंह कामी, कोषाध्यक्ष राज कुमारी शाही र सचिव ज्ञानेन्द्र विक्रम शाहीले नगरपालिकासँग गरेको शर्त सम्झौता विपरीत नभएको नगरी भ्रष्टाचार कसुर गरेको अख्तियारको ठहर छ। उनीहरुबाट पनि २० लाख ३० हजार १ सय १९ रुपैयाँ र ऐनको दफा ८ (१) बमोजिम कैद तथा जरिवानाको बिगो सहित सजाय हुन मागदाबी गरिएको छ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर सुनार, तत्कालीन इन्जिनियर बसन्त रोकाया र तत्कालीन सवइन्जिनियर शिवराज शाहीले घट्टदेखि तर्पुखोलासम्म सडक निर्माण कार्यको झुट्टा विवरण तयारी गरी २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

उक्त योजनाको अनुगमन समितिका पदाधिकारीहरु कर्ण बहादुर रोकाया, काली सार्की, टोप बहादुर चन र ठुलीभेरी नगरपालिका –८ का तत्कालीन वडा अध्यक्ष हरि प्रसाद डाँगीले गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको ठहर गर्दै  उनीहरुबाट २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर डाँगी, कोषाध्यक्ष रेश्मा डाँगी र सचिव कर्ण चन्द्र डाँगीले नगरपालिकासँग गरेको सम्झौता विपरीत काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनिहरुबाट पनि २२ लाख ८९ हजार २ सय ६५ रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदाबी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले ठुलीभेरी नगरपालिकाका तिन वटा सडकको छुट्टा छुटटै मुद्दा विशेष अदालतमा दायर गरेको हो।

प्रकाशित: १९ फाल्गुन २०७९ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App