१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुखर्जीका लागि पहिलेभन्दा कञ्चन बागमती

काठमाडौं-आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्न पुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि सुखद आश्चर्य भने कलकल बगेकी बागमतीको दृश्यले गराएको छ।

आफू अघिल्ला भ्रमणमा आउँदा ‘ढलमती’ बनेकी बागमतीको स्वरुप फेरिएको देखेपछि राष्ट्रपति मुखर्जीले खुशी व्यक्त गरेका थिए । ‘बागमती पहिलाभन्दा राम्री भइछन्,’ पूजाका क्रममा उनले व्यक्त गरेको प्रतिक्रिया उद्धृत गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘पशुपतिको फेरिएको स्वरुप देखेर उहाँ निकै खुशी हुनुभयो ।’

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जी बिहीबार बिहान १० बजे पशुपतिनाथ पुगेका थिए । सोझै पश्चिम मूलद्वारबाट प्रवेश गरेका उनले पशुपति परिसरस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरेका थिए ।

राष्ट्रपति मुखर्जीले पशुपतिनाथ क्षेत्रको गर्भगृहबाट प्रवेश गरी धर्मशीला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको समेत पूजाअर्चना गरेका थिए । शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेपछि संकमोचन हनुमान र नवग्रहको दर्शन गरेका थिए ।

पूजा गर्न पलेँटी कसेर बस्नु पर्ने भए पनि ८० वर्षे मुखर्जीको स्वास्थ्यलाई ध्यानमा राखेर डेढ फिट अग्लो आसनको व्यवस्था गरिएको थियो । करिब एक घन्टाको पूजा उनले अत्यन्तै श्रद्धा र तन्मयतापूर्वक गरेको टण्डनले जानकारी दिए । ‘महामहिम भारतीय राष्ट्रपति बडो श्रद्धा भक्तिपूर्वक पूजामा सहभागी हुनुभयो,’ उनले भने ।

पूजाका क्रममा उनले डेढ वर्षअघि वैशाख १२ को भूकम्पमा पशुपतिनाथलाई क्षति पुगे नपुगेको सोधीखोजी गरेका थिए । ‘भूकम्पले पशुपति प्रांगणलाई के भयो ?’ उनले जिज्ञासा राखेका थिए । त्यसले खासै क्षति नपु¥याएको जवाफ अधिकारीहरूबाट पाएपछि उनले सन्तोष प्रकट गरेका थिए ।

उनले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरेका थिए । राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्तिवाचन गरेका थिए। हाकुपटासीमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा एकत्रित नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए।

राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा दक्षिणा चढाएका थिए।

विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले राष्ट्रपति मुखर्जीलाई फूलप्रसाद र कोषका अध्यक्षसमेत रहेका सवारी मन्त्री जीवनबहादुर शाहीले स्नेहोपहार प्रदान गरेका थिए । कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराजलगायत विभिन्न देवीदेवताका तीन फिट अग्ला मन्दिर उपहारस्वरुप प्रदान गरियो ।

पूजा सकेर फर्कने बेलामा उनले आगन्तुक पुस्तिकामा हस्ताक्षरसहित आफ्नो अनुभूति लेखेर पशुपति क्षेत्रको विकास तथा संरक्षणमा भारतीय सहयोगबारे समेत जानकारी दिएका थिए । ‘नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजना स्थापनामा सहयोग गर्न पाएर भारत सरकारलाई प्रशन्नता भएको छ,’ मुखर्जीले हरियो रंगको मसीले लेखेका छन्, ‘यो आयोजना अहिले कार्यान्वयन भइरहेको छ ।’

पुस्तिकामा भारतीय राष्ट्रपतिले मन्दिर क्षेत्र आसपासका घाट पुनर्निर्माणमा सहायताको घोषणा समेत गरेका छन् । ‘मेरो राजकीय भ्रमणका दौरान भारत सरकारले मन्दिर क्षेत्र आसपासका घाट पुनर्निर्माण र जीर्णोद्धारमा समेत सहयोग गर्ने घोषणा गर्न पाउँदा मलाइ आनन्दानुभूति भइरहेको छ,’ उनले लेखेका छन्।

‘म पशुपति क्षेत्र विकास कोषलाई यो अद्वितीय मन्दिर परिसर संरक्षण एवं यसको रेखदेखमा कोषले गरिरहेका प्रयासको सफलताका लागि शुभकामना दिन्छु,’ उनले पुस्तिकामा लेखेका छन्, ‘पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आएर मलाइ प्रशन्नता अनुभूति भइरहेको छ।’ मुखर्जीले विशेष पूजामा सहभागी भएर आनन्द अनुभूति गरेको समेत पुस्तिकामा उल्लेख गरेका छन् ।

हरियो मसी प्रयोगको अर्थ

आगन्तुक पुस्तिकामा अनुभूति र हस्ताक्षर गर्नसामान्यतया प्रयोग गरिने निलो, कालो वा रातो मसीको प्रयोग नगरी राष्ट्रपति मुखर्जीले हरियो मसी प्रयोग गरे । हरियो मसीले लेख्नुलाई कतिपय मनोवैज्ञानिक असल व्यक्तित्व दर्शाउन प्रयोग गरिने उल्लेख गर्छन् । यसका साथै हरियो मसीले लेख्नुको अर्थ हुन्छ — शान्ति, स्थिरता र प्रकृतिप्रति निकटता।

 

प्रकाशित: १९ कार्तिक २०७३ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App