१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

तालबराहीको पुनर्निर्माण तयारी

फाइल तस्वीर

फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माणको तयारी थालिएको छ। मन्दिर तीन इन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पुनर्निर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पुनर्निर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। गुठीका अध्यक्ष हिक्मतबहादुर कुँवरका अनुसार चैतदेखि पुनर्निर्माण सुरु हुने र आठ महिनाभित्र काम सक्ने योजना छ। मन्दिर भत्काउनुअघि सोमबार र मंगलबार क्षमा प गरिएको छ। ‘तालबाराही मन्दिर तीन इन्च दक्षिण ढल्किएको छ। भुइँतलासहित तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि जोखिम बढेको छ। मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी जोखिममा परेकाले पुनर्निर्माण गर्नुपरेको हो,’ कुँवरले भने, ‘भूकम्प आयो भने त झनै जोखिम छ।’

पुनर्निर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठासहित मन्दिरमा दुुई दिनसम्म क्षमा पूजा गरेको उनले बताए। तालबराही देवीको मन्दिर पुनर्निर्माण गर्दा कहीँकतै भूलवश कुनै काम भए, देवी माताले बिघ्न बाधा अड्चन नगरून् र कसैलाई पनि नराम्रो नहोस् भन्ने उद्देश्यले क्षमा पूजा गरिएको उनले बताए। गुठी संस्थान र पुरातत्व विभागका प्राविधिकले गरेको अनुमानअनुसार मन्दिर पुनर्निर्माण गर्न १ करोड ४४ लाख रूपैयाँ खर्च लाग्ने देखिएको उनले बताए। त्यो मध्ये २५ लाख रूपैयाँ पुरातत्व विभागले दिने वचन दिइसकेको अध्यक्ष कुँवरले बताए। बाँकी रकमको भने जोहो नभएको उनले बताए। तर गुुठी संस्थानसहित दातासँग सहयोग मागिरहेको उनले बताए। ‘बाहिरी संरचना बलियो बनाउने गरी पुनर्निर्माण हुनेछ। मन्दिरको स्वरूप परिवर्तन हुँदैन,’ उनले भने, ‘मन्दिरको बाहिरी घेरामा २४ इन्चको पर्खाल रहनेछ।’

झन्डै तीन वर्षअघि नै मन्दिर दक्षिण ढल्केको देखिएको थियो। पछि त्यसलाई गुठी र पुरातत्वका प्राविधिक झिकाएर अध्ययन गराउँदा तीन इन्च ढल्केको पुष्टि भएको थियो। उनका अनुसार २०७२ सालको भूकम्पले मन्दिरका अधिकांश भाग चर्किएको थियो। रुख निकालेपछि मन्दिर केहि ढल्किएको जस्तो देखेपछि पुरातत्वविदलाई देखाउँदा मन्दिर तीन इन्च ढल्किएको पुष्टि भएको उनले बताए। मन्दिर ढल्किनुको कारण ठ्याक्कै भन्न नसकिए पनि भूकम्प कारण हुनसक्ने उनले बताए। ‘भूकम्पका कारण मन्दिर जीर्ण बन्नु, मुसाले भित्रभित्रै खोतलेर मन्दिरको भित्रीभागसम्म प्वाल बनाउनु, रुखको जरा मन्दिर भित्रसम्म पस्नुजस्ता कारणले मन्दिर ढल्किएको हुन सक्ने अध्यक्ष कुँवरको भनाइ छ। तालबाराही मन्दिर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा निर्माण गराएका थिए। 

प्रकाशित: १८ फाल्गुन २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App