१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महिलाको प्रमुख रोजगार गन्तव्य

वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरू मध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) जाने गरेको एक तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष ०७९-८० को माघसम्म (सात महिनामा) १३ हजार ५ सय ८९ जना महिलाहरू श्रम स्वीकृति लिएर युएई गएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो तथ्यांकले नेपाली महिलाको प्रमुख श्रम गन्तव्य युएई रहेको पुष्टि गर्छ।  

वैदेशिक रोजगारीका लागि जानेमध्ये सबैभन्दा धेरै साउदी अरेबिया जाने भए पनि महिलाहरूको प्रमुख गन्तव्य भने युएई भएको पाइएको छ। गत आर्थिक वर्षको सात महिनामा ११ हजार ४ सय ३९ जना महिलाले युएई जान श्रमस्वीकृत लिएका थिए। माघ महिनामा वैदेशिक रोजगारमा जान कुल ६४ हजार २ सय ८४ जनाले स्वीकृत लिएकोमा ५ हजार ८ सय ३७ महिला रहेका छन्।

श्रमस्वीकृति लिएर जाने महिलाहरू मध्ये युएईपछि कुबेत जानेहरू धेरै रहेका छन्। माघ महिनामा कुबेत जानका लागि २ हजार ९ सय ९२ जनाले स्वीकृति लिएकोमा ९ सय ११ जना महिला रहेका थिए। त्यस्तै मलेसिया जाने १९ हजार ७ सय ८३ जना मध्ये ७ सय ८६ जना महिला थिए। त्यस्तै कतार जान स्वीकृति लिने १२ हजार ७ सय ४ मध्ये ५ सय ३५ जना महिला थिए। यसैगरी कतार जान ५ सय ३५ र साइप्रस जान ३ सय ६३ महिलाले स्वीकृति लिएका छन्।  

सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपविहीन अवस्थामा विदेश पुग्ने गरेका छन्। नेपालबाट महिलाहरूलाई रोजगारीका लागि विदेश जान सबै मुलुकमा भने खुला छैन। महिलाहरू अवैध बाटोबाट पनि विदेश जाने गरेका छन्।

वैदेशिक रोजगार विभाग अनुसार गत वर्ष करिब ४९ हजार १ सय २८ जना महिला विदेशिएका थिए। ती मध्ये २१ हजार १ सय ३९ जनाले युएई जान श्रम स्वीकृत लिएका थिए। महिलाको हकमा श्रम गन्तव्य युएई, कुवेत, मलेसिया, कतार, साईप्रस, रोमनिया, बहराइन, साउदी अरेबिया, रहेका छन्।  

समग्रमा विदेश जाने महिलाको संख्या बढेसँगै युएई जानेको संख्या पनि उकालो लागेको छ। वैदेशिक रोजगारीका लागि नेपाली महिलाहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको तथ्याङ्कअनुसार सबैभन्दा धेरै नेपाली महिलाहरू कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदारका रूपमा विदेश जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। महिलाहरू म्यानपावरमार्फत्‌ नभई व्यक्तिगत प्रयासमा विदेश जाने गरेको भुसाल बताउछन्। यद्यपि त्यो संख्यामा विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको उनले बताए।

नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका लागि बन्देज लगाइएका देशमा पनि काम गर्न भनेर जाने गरेको सरकारी अधिकारीहरू बताउँछन्।  

‘हामकहाँबाट जाने अधिकांश महिला कामदार अदक्ष हुने गरेका छन्, जसका कारण उनीहरूले धेरै पीडा खेप्नुपर्ने, कम तलब पाउने, सुविधा पनि कम नै हुने गर्छ,’ सूचना अधिकारी भुसालले थपे, ‘हामीले धेरै दक्ष कामदार विदेश पठाउन सक्ने भए उनीहरूले पठाउने रेमिट्यान्स पनि बढी हुन्थ्यो भने राज्यले उद्धारलगायतका काममा पनि धेरै समय खर्चिनुपर्दैनथ्यो।’

घरेलु हिंसा र अलपत्र पर्नेहरूको उद्धारमा पनि राज्यको समय र रकम खर्च बढी हुने गरेको अधिकारीहरू बताउँछन्। यो अवस्थामा सुधारका निम्ति प्रयासहरू जारी रहे पनि अझै अपेक्षित उपलब्धि प्राप्त गर्न नसकिएको अधिकारी भुसाल बताउछन्।  

‘हाम्रा महिला कामदारले कहाँ राम्रो र धेरै सुविधा पाउँछन्, उनीहरूको कहाँ धेरै सुरक्षा हुन्छ भन्ने कुरामा त्यति ध्यानै दिइएको देखिँदैन’ भुसालले भने।  

नेपालले हाल संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि ११० देशहरू खुला गरेको छ। कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेसियासँग द्विपक्षीय श्रम सम्झौता गरेको छ। व्यक्तिगत श्रम स्वीकृतिमा १ सय ७२ मुलुकमा नेपालीहरू कामका लागि वैदेशिक रोजगारीमा जाने गरेको विभागले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App