१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका छन्। त्यस अवसरमा ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउन पनि उनले निर्देशन दिएका छन्।

भिडियो कन्फरेन्स मार्फत छलफल चलाएका गुरुङले जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा जानकारी लिएका थिए।  

गण्डकी प्रदेशको शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन जानकारी लिने उद्देश्यले प्रदेश प्रहरी प्रमुख गुरुङद्वारा उक्त भिडियो कन्फरेन्स गरिएको प्रहरीले बताएको छ। उक्त छलफलमा प्रदेश प्रहरी कार्यालय मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख सहभागि थिए। साथै उनीहरुले आ–आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक गुरुङलाई जानकारी गराएका थिए।  

उक्त छलफलमा गुरुङले सम्पुर्ण प्रहरी कर्मचारीले कानूनको विवेकसम्मत प्रयोग गर्न जान्नुपर्ने बताए। प्रहरी कार्यमा व्यवसायिकतालाई विवेकसम्मत प्रयोग गर्न पनि उनले निर्देशन दिएका थिए। त्यसबाहेक प्रहरी कर्मचारीबीच समन्वयमा आवश्यक रहेको पनि उनले बताए।  

गुरुङले लक्षित वर्ग पहिचान गरी घरेलु हिंसा, लागुऔषध दुव्र्यसनी न्यूनिकरण, साईबर क्राईम, सडक सुरक्षा लगायतका विषयमा सचेतना कार्यक्रम चलाउन पनि निर्देशन दिएका थिए। समाजको शान्ति सुरक्षामा प्रहरीको उपस्थिति देखिने गरी बनाएको गस्ति योजना अनुरुप ग्रामिण र सहरी गस्तिलाई बढावा दिन पनि उनको निर्देशन थियो।  

प्रमाणमुखी अपराध अनुसन्धान र अभिलेख व्यबस्थापनमा प्रहरी चुक्न नहुने बताउँदै उनले गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी मिडिया सम्बन्ध निर्माण गर्नुपर्ने पनि बताए। प्रहरी नायव महानिरीक्षक गुरुङले मातहतका प्रहरी कर्मचारीहरुको गुनासोलाई लिखित रुपमा लिने र सम्बोधन गर्ने तथा आफुबाट सम्बोधन नहुने गुनासो माथिल्लो तहमा जानकारी गराउने पनि बताए।  

प्रकाशित: १५ फाल्गुन २०७९ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App