१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्यालयका काम छाडेर एनिजओको ठेक्का गर्दै हाकिम

गोरखा– घरेलु तथा साना उद्योग विकास समिति गोरखाका कार्यालय प्रमुख विणुप्रसाद न्यौपानेले कार्यालयका कामको बेवास्ता गर्दै एनजिओसँग ठेक्कामा काम गरेको खुलेको छ। एनजिओसँग जिविसकोपार्जनसम्बन्धी  सीप विकास तालिमको जिम्मा लिएर ३२ लाख ३० हजार पाँच सय रुपैयाँको कार्यक्रम कार्यालयबाट गरेका हुन्। एनजिओले गरेको कामको अनुगमन मूल्याङ्कन गर्नुपर्ने कार्यालयले नै कामको जिम्मा लिएर सबै कार्यक्रम आफूले संचालन गरेपछि कार्यालयको काम ठप्प छ। उनले आर्थिक चलखेलका लागि कामको जिम्मा लिएको गुनासो कार्यालयकै कर्मचारीले गरेका छन्।  

वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र चेस गोरखा नामक गैरसरकारी संस्थाको साझेदारीमा संचालित जिविकोपार्जनसम्बन्धी तालिमको सम्झौता दोस्रो पक्ष बनेर सरकारी कार्यालयले ठेक्कामा संचालन गरेको  जिल्लामै पहिलो घटना हो। अन्य कार्यालयले समन्वय अनुगमन र प्राविधिक सहयोग गरेको भए पनि कार्यक्रम नै भने संचालन गरेका छैनन्।

घरेलु कार्यालयले सिलाई कटाई, मोबाइल मर्मत, हाउस वाईरिङ, सोलार जडान एवं मर्मत, ब्यूटि पार्लर, र बाँस हस्तकला निर्माणमा गरी ७५ जनालाई तालिम दिने सम्झौ्रता गरेको छ। सम्झौता पत्रमा घरेलु कार्यालयका प्रमुख न्यौपानेले सरकारी छाप र हस्ताक्षर गरेका छन् । भदौ १५ बाट सदरमुकाममा सुरु गर्ने गरी सम्झौता भए पनि ढिला गरी असोज सात गतेबाट घरेलु कार्यालयले तालिम चलाइरहेको छ। वल्र्ड भिजन र चेस गोरखाले उक्त तालिमबारे घरेलु कार्यालयसँग समन्वय गर्दा कार्यालय प्रमुख आफैँले संचालन गर्ने बताएपछि सोझै सम्झौता भएको थियो।

प्रमुख जिल्ला अधिकारीलाई एनिजओको कार्यक्रममा नजान गृहमन्त्रालयले निर्देशन पठाएका बेला अन्य सरकारी कार्यालयले भने आर्थिक लोभले एजिओको कार्यक्रम कार्यन्वयन गर्ने निकायको रुपमा काम गरिरहेका छन्। घरेलु कार्यालयले नै तालिम चलाउने भएपछि लाग्नेभन्दा महँगोमा दररेट निर्धारण गरेर सम्झौता भएको एनजिओका एक कर्मचारीले बताए। सरकारी कार्यालयलाई काम लगाउँदा सत प्रतिशत उपलब्धी आउने भएपछि र काम गर्न सहज हुने हुँदा एनजिओ, आइएनजिओले सहजै जिम्मा दिएका हुन् । नियमत उक्त तालिम अनुमती प्राप्त प्रशिक्षण केन्द्रबाट संचालन गर्नुपथ्र्यो।

अहिले चलिरहेको तालिम संचालनका लागि घरेलु कार्यालयले निर्माण व्यवसायी समितिको हल ४५ दिनका लागि ८३ हजारमा लिएको छ। ब्यूटी पार्लर, मोवाइल मर्मतका लागि सदरमुकाममा रहेका व्यवसायीलाई सस्तोमा सम्झौता गराएर कार्यालय प्रमुख न्यौपानेले मोटो रकम चलखेल गरेको गुनासो छ। कामु प्रमुख उद्योग अधिकृत न्यौपानेले जिविसकोपार्जनका कार्यक्रम भएकाले सम्झौता भएर काम गरेको बताए । चौतर्फी आलोचना भएपछि उनले केही दिन अघिको मिति राखेर सम्झौता रद्धको पत्र एनलिओलाई पठाउने तयारी गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साझेदारीमा काम गर्न पाउने तर आर्थिक सम्झौता आफै गर्नु कमजोर पक्ष भएको बताए। उनले भने, ‘प्राविधिक सहयोग, सुझाब सल्लाह दिन सक्छ तर आर्थिक सम्झौता आफैँ गरेर कार्यक्रम जिम्मा लिनु गतल भो।’ घरेलु  कार्यालय प्रमुख न्यौपानेले जिल्ला बिकास समिति, जिल्ला प्रशासन कतैपनि जानकारी नगराई कार्यक्रम गरेका हुन्। एनजिओ, आइएनजिओले गर्ने कार्यक्रमको बारेमा सम्बन्धित कार्यालय, जिविसमा जानकारी गराउनुपथ्र्यो। अहिले भूकम्पपछि जिल्लामा काम गर्न आएका एनजिओ, आइएनजिओले सरकारी कार्यालयलाई प्रभावमा काम गराउन सके उपब्धी देखिने र दता रिझाउन सक्ने अपेक्षाले काम गर्दै आएका छन् ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App