२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दसैंमा बत्ती बाल्ने सपना अधुरो

ठेकेदारले काम छाडेपछि खासकुश्मा–२ बैरियामा अलपत्र परेका बिद्युत पोल । तस्बिर: अर्जुन ओली

नेपालगन्ज–सरकारी प्रक्रिया र ठेकेदारको ढिला सुस्तीका कारण जिल्लाको खासकुश्मा गाविसमा निर्माणाधीन ग्रामिण सामुदायिक विद्युतीकरणको काम लामो समयदेखि अलपत्र परेको छ। ठेकेदारले सम्झौताको म्याद दुई पटक गुजारी सक्दापनि काम अधुरै रहेको छ। आर्थिक वर्ष २०७१÷७२ भित्र उक्त गाविसमा विद्युतीकरणको काम सम्पन्न गर्न जनमुखी कन्ट्रक्सन कम्पनीले विद्युत प्राधिकरण सामुदायिक विद्युतीकरण विभागसँग सम्झौता गरेको थियो।

तोकिएको समयमा काम सम्पन्न नभएपछि ठेकेदारले आर्थिक वर्ष २०७२/७३ र चालू वर्ष २०७३÷७४ मा गरेर दुई पटक म्याद थपिसकेको छ। चालू वर्षको तीन महिना बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम सुरु नभएपछि स्थानीय बासिन्दा चिन्तित भएका छन्। दोस्रो पटक म्याद थपिसकेपछि ठेकेदारले दिएको आश्वासन अनुसार दसैमा बत्ती बाल्ने उनीहरूको सपना अधुरो भएको छ।  ‘बत्ती बाल्ने सपना देख्दा देख्दै दुई वर्ष बितिसक्यो, यो दसैंमा त जसरी भएपनि बत्ती बाल्न पाउँछौं भनेर आसामा बसेका थियौं, तर अधुरो भयो,’ खासकुश्मा–२ का चुर्णबहादुर कुमालले भने।

विभिन्न बहानामा ठेकेदारले अहिले काम रोकेको छ। एकातिर सरकारी प्रक्रिया लम्बिनु अर्कोतिर ठेकेदारले कामको गति नबढाउनु विद्युतीकरण ढिलाइ हुनुको मुख्य कारण भएको स्थानीयको बुझाइ छ। समयमा विद्युतीकरण सम्पन्न नहुँदा सिँचाई, खानेपानीलगायत सुविधाबाट बन्चित हुनु परेको उनीहरूको गुनासो छ। सदरमुकाम नेपालगन्जबाट दूरीका हिसाबले सबैभन्दा टाढा रहेको खासकुश्माको विद्युतीकरणको विषयमा जिल्लाका सरोकारवाला निकायलेसमेत बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन्।

बिद्युतीकरण क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले प्रक्रिया लम्बिएको विद्युत प्राधिकरण सामुदायिक बिद्युतीकरण विभागले जनाएको छ। विभागका प्रमुख रामेश्वरप्रसाद कलवारले निकुञ्ज समस्याका कारण ठेकेदारको म्याद पटक–पटक थपेर काम गर्नु परेको बताए। ‘बिद्युत पोल गाड्नुपर्ने केही ठाउँ निकुन्ज क्षेत्र पर्दो रहेछ, त्यहाँ रुख काटेर पोल गाड्नुपर्ने भएकाले त्यसको प्रक्रिया लामो हुदाँ काम लम्बिएको हो,’ कलवारले टेलिफोनमा भने।

निकुन्ज क्षेत्रमा पोल विस्तार गर्ने विषयमा दुई वर्षअघि वातावरणीय परिक्षण प्रतिवेदन तयार भएको थियो। उक्त प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले हालै मात्र स्वीकृति दिएको छ। विभाग स्रोतका अनुसार निकुन्ज क्षेत्रमा विद्युतीकरणका लागि १ सय ४६ वटा रुख कटान गरिने भएको छ । रुख व्यवस्थापनका लागि विद्युतीकरण विभाग र कुसुम ग्रामीण विद्युत सहकारी संस्थाबीच आवश्यक सम्झौता हुन बाँकी छ।

सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदी रुख व्यवस्थापन सम्बन्धि सम्झौता भए लगत्तै विद्युतीकरणको काम पुनः सुरु हुने बताउँछन्। ‘सम्झौताकालागि विभागले हामीलाई बोलाइसकेको छ, सम्झौता भइसकेपछि लगभग सबै प्रक्रिया पूरा हुन्छ र फटाफट काम चालू हुन्छ,’ उनले भने। सुवेदीका अनुसार विभाग र सहकारी संस्थाबीच सम्झौताका क्रममा काटिएको स्थानमा रुख रोप्ने, संरक्षण गर्ने र पोल गाडे बापत निकुन्जलाई बार्षिक रुपमा बुझाउने शुल्कको पनि टुंगो लाग्नेछ ।

बिद्युतीकरणका लागि ठेकेदारले करिव साढे ३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको बताइएको छ। ‘बुटवल–कोहलपुर १३२ केभी दोस्रो सर्किट प्रशारण लाइनअन्तर्गत खासकुश्मा–२ बैरियामा निर्मित सव–स्टेशनबाट उक्त गाविसका २ हजार ८ सय २५ घरधुरीलाई बिद्युत सेवा उपलब्ध गराउने विभागको लक्ष्य छ। डिजाइन इस्टिमेट अनुसार ठेकेदारले करिव २ हजार पोल गाड्नुपर्नेछ ।

विभागका अनुसार खासकुश्मा गाविसकालागि करिव ३ एमबिए क्षमताको विद्युत दिइनेछ । यसका लागि खासकुश्मा–२ कुसुम बैरियामा दुई वर्ष अघि नै सबस्टेशन निर्माण भइसकेको छ। ठेकेदारले अहिले सम्म करिव ८० प्रतिशत काम सम्पन्न गरिसकेको अध्यक्ष सुवेदीले जानकारी दिए। ‘अब लगभग साढे ३ सय जति पोल गाड्नुपर्ने देखिन्छ, केही ठाउँमा तार तान्न बाँकी छ, निकुन्ज क्षेत्र र एक/दुई वटा गाउँमा पोल गाड्नुपर्नेछ,’ उनले भने ।

 

प्रकाशित: २ कार्तिक २०७३ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App