१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीलाई सघाउँदै प्रविधि

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक गिरोहविरुद्ध नेपाल प्रहरीका अधिकांश अप्रेसनमा व्यक्तिगत सूचनाभन्दा प्राविधिक तथ्य बढी परिणाममुखी देखिएको छ। पछिल्लो समय अपराध भएको स्थल, शकांस्पद व्यक्तिले बोकेको मोबाइल लोकेसन र उसले सम्पर्क गरेका व्यक्तिबाट अनुसन्धान प्रारम्भ हुनुले समेत प्रहरी अनुसन्धान प्रविधिमैत्री बन्दै गएको देखाउँछ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा अन्य परीक्षणसँगै पछिल्ला तीन वर्षदेखि डिएनए परीक्षण हुँदै आएको छ। अहिले प्रयोगशालामा पोलिग्राफ टेस्ट मेसिन पनि छ। तालिमप्राप्त कुकुरसहितको गण सञ्चालन भएको ४० वर्षभन्दा बढी भयो।

गत वर्ष फागुनमा म्याग्दीमा तारा एयरको विमान दुर्घटना भयो। विमानमा सवार २३ जनाकै मृत्यु भएको उक्त दुर्घटनामा सम्बन्धित व्यक्तिको शव पहिचानका लागि डिएनए परीक्षण उत्तम उपाय साबित भयो।

प्रयोगशालाले विमानका सहचालक डिकेश नेमकुलको शव पहिचान गरी बुझाएको थियो। प्रयोगशालाका प्रमुख एसपी राकेश सिंहका अनुसार विमान दुर्घटनाजस्तै महाभूकम्पमा विदेशी नागरिकको क्षतविक्षत शव पहिचानमा समेत डिएनए परीक्षण उपयोगी साबित भयो।

महाभूकम्पपछि रसुवाको लाङटाङ क्षेत्रबाट दर्जनौं शव काठमाडौं ल्याइयो। क्षतिग्रस्त भवन र हिमपहिरोमा परेकाको शव पहिचान गर्न असम्भवजस्तै थियो। प्रहरीले ती शवको डीएनए परीक्षण थाल्यो। घटनाको दुई महिनामा प्रयोगशालाले लाङटाङबाट उद्धार गरिएका शवमध्ये नौ विदेशी नागरिकलाई पहिचान गरी सम्बन्धित देश र व्यक्तिलाई बुझायो।

'हामीले शवको डिएनए परीक्षण गर्‍यौं। अनि, उनीहरुलाई खोज्दै आएका आफन्तको पनि डिएनए परीक्षणपछि पहिचान गर्न सफल भयौं,' सिंहले भने।

प्रहरीलाई करिब तीन वर्षअघि डेनमार्क सरकारले डिएनए परीक्षण उपकरण उपलब्ध गराएको हो। त्यसयता परीक्षणका लागि भारत धाउनुपरेको छैन। त्यसअघि प्रहरी अधिकारी नेपाल र भारतका परराष्ट्र र गृह मन्त्रालयबाट लामो प्रक्रिया पूरा गरेर भारतको कोलकाता र हैदरावाद जाने गर्थे।

एसपी सिंहका अनुसार हालसम्म प्रयोगशालाबाट एक सय ६३ घटनाका ६ सयभन्दा बढी नमुनाको डिएनए परीक्षण भइसकेको छ। उनका अनुसार काठमाडौं उपत्यकासहित देशभरबाट डिएनए परीक्षणका लागि नमुना आउने गरेका छन्। बलात्कार, हत्या, बालबालिकाका अभिभावक पत्ता लगाउनेदेखि शवको पहिचान गर्न डिएनए जाँच प्रहरी प्रयोगशालामा भइरहेको छ।

प्रहरीले करिब २० वर्षअघि ललितपुरको फादर ग्याफने हत्याकाण्ड अनुसन्धान गर्दा अवस्था अर्कै थियो। त्यतिबेला घटनास्थलमा अभियुक्तले केही प्रमाण छाडे मात्रै प्रहरीलाई अनुसन्धानमा सहज हुन्थ्यो, अन्यथा शंकास्पदलाई शारीरिक र मानसिक दबाब दिनुको विकल्प प्रहरीसँग थिएन।

'घटनास्थल, प्रत्यक्षदर्शी र घटनासँग सम्बन्धित व्यक्तिको बयान नै अनुसन्धानको पहिलो कडी हुन्थ्यो। उनीहरुसँग र अन्य शंकास्पदसँग  सोधपुछ गर्नुबाहेक अर्को अवस्था थिएन,' एसएसपी विक्रमसिंह थापा सम्झन्छन्। उनका अनुसार पहिले र अहिले प्रहरी अनुसन्धान पद्धति मात्र होइन, प्रहरी नै फेरिएको छ। 'अहिले संगठनमा प्रहरी सेवालाई अवसर र व्यावसायिक रूपमा अघि बढाउने ठूलो समूह कार्यरत छ। उनीहरूको सोच आधुनिक छ,' थापाले थपे।

रानीबारी हत्याकाण्ड र न्यायाधीश रणबहादुर बम हत्याकाण्ड प्रहरीका सफल अनुसन्धानमा पर्छन्। तर, रानीबारी हत्याकाण्डमा हत्यारा पत्ता लगाउन प्रहरीलाई १४ वर्ष लागेको थियो भने न्यायाधीश बम हत्याकाण्डको गुत्थी सुल्झाउन साढे दुई वर्ष मात्र लाग्यो।

'हिजोजस्तो जोखना हेरेर अनुसन्धान गर्नुपर्ने अवस्था आज छैन। प्राविधिक अपराध अनुसन्धानमा हामी बिस्तारै अभ्यस्त हुँदै छौं,' प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले भने।

हाल प्रहरीले डिजिटल फरेन्सिक साइन्स किट प्रयोग गर्दै काठमाडौं उपत्यकाका घटनामा मुचुल्का उठाउँछ। अनुसन्धानका लागि पहिलो कडीका रुपमा टेलिफोन कल डिटेल र लोकेसनलाई लिइन्छ। घटनास्थलमा तालिमप्राप्त कुकुर पुग्छन्। प्रहरीसँग डिएनए परीक्षण सुविधा आफ्नै विधि विज्ञान प्रयोगशालामा उपलब्ध छ। आरोपी पक्राउ परे भिडियो रेकर्डिङमा बयान लिइन्छ। झुट बोले/नबोलेको थाहा पाउन पोलिग्राफ टेस्ट गरिन्छ।

सेनाको सुदूरपश्चिम पृतनामा भएको हतियार हराएको घटनाको अनुसन्धान प्रहरीले गर्‍यो। शंकास्पद पाँच सैनिक जवानको पोलिग्राफ टेस्टबाट प्रहरीले अनुसन्धानमा सफलता पायो। प्रहरीलाई सहयोगस्वरुप प्राप्त पोलिग्राफ मेसिन हाल आवश्यकता अनुसार देशभर पुग्ने गर्छ। अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार हालसम्म तीन सय ५५ घटनाको अनुसन्धानमा पोलिग्राफ टेस्ट भइसकेको छ।

यसै वर्ष सल्यानको रानागाउँमा आमा, दुई नाबालकसहित तीनजनाको हत्या भएको थियो। यस घटनाका हत्यारा सञ्जय भारतीलाई प्रहरीको तालिमप्राप्त कुकुरले पहिचान गरेको थियो। यस्तै लागुऔषध पत्ता लगाउनदेखि पत्रकार वीरेन्द्र यादवको शव पत्ता लगाउन समेत प्रहरीका तालिमप्राप्त कुकुर उपयोगी सिद्ध भए।

'प्रहरीले कुटेर अनुसन्धान गर्ने दिन हराए, हामी पहिले प्रमाण जुटाउँछौं। अनि मात्र शंकास्पदलाई नियन्त्रणमा लिन्छौं। तर अझै अनुसन्धानका सहायक प्रविधि हामीभन्दा टाढा नै छन,' डिआइजी मल्लले भने।

प्रकाशित: २ कार्तिक २०७३ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App