२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सवारी चेकजाँचमा कडाइ

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँचदेखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी सहायक निरीक्षक (असई)सुशील विश्वासले जानकारी दिए। उनका अनुसार अहिले रातको समयमा मापसे गरी सवारी चलाएको हो कि होइन भन्ने चेकजाँच बढी गरिन्छ। बढी गतिमा सवारी कुदाएको भए नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने योजना ट्राफिक प्रहरीको रहेको छ।

‘सुरुका दिन ६/७ वटा सवारी कारबाहीमा परे, त्यसपछि अहिले सरदर दैनिक ३/४ वटा परिरहेका छन्,’ असई विश्वासले भने। ट्राफिक प्रहरीले फुङलिङ प्रवेशद्वार हेलिप्याड र बजार क्षेत्रमा सवारीमाथि निरागानी बढाएको जनाएको छ। असई विश्वासले एकै ठाउँ नबसी सवारीमाथि छड्के जाँच गर्ने योजना समेत सुनाए। तीव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आएको भन्दै उनले आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनले जानकारी दिए। उनले ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीसमेत कारबाहीमा परेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी)राजन लिम्बुले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लंघन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए। जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने/गराउनेतर्फ केन्द्रित हुने बताएका थिए।

साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन, अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाइका साथ प्रस्तुत हुने उनको प्रतिबद्धता थियो। डिएसपी लिम्बुले सवारी भाडादरसहित अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेको जानकारी पनि दिए।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App