इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् ।
कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।
अहिले पूर्वप्राथमिक विद्यालय जाने उमेरका बालबालिका कारागारमा छन् । अञ्जान क्षेत्री अहिले तीन वर्षका भए । अञ्जानकी आमा हिमादेवीसँगै कारागारमा बसिरहेका छन् । बच्चा फ्याँकेको मुद्दामा जेलजीवन बिताइरहेकी हिमादेवीको नागरिकता नहुँदा अञ्जानको जन्मदर्ता हुन नसकेको हो ।
विद्यालय पठाउने उमेरमा जन्मदर्ता नहुँदा कारागारमा राख्नु परेकाले जिल्ला कारागार इलाम पनि अप्ठ्यारोमा छ ।
कारागारमै आश्रित चार वर्षीया स्मृति राईको पनि जन्मदर्ता छैन । बाबुको पहिचान नभएको यी बालिकाको पनि विद्यालय भर्ना हुने उमेर पुगिसक्यो । आफ्नो नागरिकता नहुँदा छोरीको जन्मदर्ता हुन नसकेको पम्फाले बताइन् । पम्फा कतव्र्य ज्यान मुद्दामा २० वर्षे कैद भुक्तान गरिरहेकी छिन् ।
कारागारमा कैद भुक्तान गरिरहेका अधिकांश महिलाको नागरिकता नहुँदा उनीहरूसँग आश्रित बालबालिकाको भविष्यसमेत अन्धकारमा पर्दै गएको छ । कारागारमा रहेका ईश्वर श्रेष्ठ र निसान राईको पनि जन्मदर्ता छैन् ।
जन्मदर्ता गराउन बाबु र आमा दुवै जनाको नाम र ठेगाना यकिन हुनुपर्ने फुएतप्पा गाविसका सचिव कृष्णप्रसाद खनाल बताउनुहुन्छ ।
कारागारमा आश्रित यी बालबालिकालाई विभिन्न सङ्घसंस्थाले पढाउने व्यवस्था मिलाइदिने आश्वासन दिएपनि जन्मदर्ताको प्रमाणपत्र नहुँदा बालबालिका पढाइबाट वञ्चित हुनुपरेको कारागार प्रमुख सिर्जना लुईँटेल बताउँछिन् । रासस
प्रकाशित: २९ आश्विन २०७३ ०६:३६ शनिबार