१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मध्यपहाडीको पालुङटार खण्डमा धमाधम रुख काटिँदै

गोरखाको मध्यपहाडी लोकमार्गमा पर्ने रुख धमाधम काटिँदै। तस्बिरः नागरिक

मध्यपहाडीको पालुङटार खण्डमा रुख काट्न सुरु गरिएको छ। रुख काट्न ढिला हुँदा १० वर्षअघिदेखि सडक कालोपत्रे रोकिएको थियो। मसानेठाँटी–पालुङटार सम्मको १६ किलोमिटर सडक स्तरोन्नति गर्दा सडकको ‘राईट अफ वे’ भित्रका आठ सय ३६ वटा रुख काटिनेछ। सात हजार क्यूफिट भन्दाबढि काठ र दाउरा निस्कने डिभिजन बन कार्यालयका सहायक बन अधिकृत महेश पौडेलले बताए।  

‘अहिले रुख काट्ने काम भइरहेको छ, कुन रुखबाट कति काठ र दाउरा संकलन भयो त्यसको रेकर्ड राखेर सामुदायिक बनले प्रयोग गर्नेछन्’ उनले भने। मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने भएकाले उक्त खण्डमा रुख काट्न ढिला भएको थियो। पालुङटार नगरपालिका वडा नम्बर १ को खोप्लाङ सामुदायिक बन, अन्नपूर्ण सामुदायिक बन, देवीस्थान सामुदायिक बन, अन्नपूर्ण देविस्थान सामुदायिक बन, वडा नम्बर २ को मालेबगर सामुदायिक बन र ४ को आमडाँडा सामुदायिक बनका रुख काटिनेछन्।  

यसअघि रुख नकाट्दा बन क्षेत्रको सडक बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको खोप्लाङका स्थानीय अर्जुन पाण्डेले बताए। ‘पहिल्यै पिच हुने बाटो रुख देखाएर काम नै गरेनन्, अहिले फेरी मध्येपहाडीले बनाउँछ भन्थे रुखले रोक्यो भनेका थिए’ उनले भने ‘अब रुख काटेपछि बाटो बन्छ कि भन्ने आस लागेको छ।’

मसानेठाँटीदेखि पालुङटार सडक खण्डमा १९ प्रतिशत काम मात्रै भएको छ। र उक्त खण्डमा घना जंगल र रुखहरु धेरै पर्ने भएकाले कामको गति ढिला भएको आयोजना कार्यालयका इन्जिनियर बिदुर सुवेदीले बताए। अहिले रुख काट्न थालेकाले अब निर्माणको कामले गति लिने उनले बताए। दुई वर्ष भित्र काम सम्पन्न नभएपछि यो ठेक्काको म्याद २०८० असार सम्म थपिएको छ।  

आरुघाटदेखि ओख्ले खण्डमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट सूर्य जेभीले अहिले सम्म ८० प्रतिशत काम मात्रै गरेको छ। २०७२ माघमा ठेक्का सम्झौता भएको ओख्लेदेखि निवेल खण्डको काम आधाआधी मात्रै काम भएको छ। आयोजना कार्यालयले यो दुबै ठेक्कालाई क्रोनिक ठेक्काको रुपमा लिएको छ। लामो समय सम्म काम नहुँदा मध्यपहाडीको गोरखामा पर्ने एउटा पनि खण्डमा पुरा काम भएको छैन। यहाँ मध्येपहाडीको करिब ६३ किलोमिटर सडक पर्छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख सुनिल रंजितकारले अहिले गोरखाको पाँचवटै खण्डमा अहिले सडक निर्माणको काम सुरु भएको बताए। निर्माण व्यवसायीलाई काम छिटो सक्ने तारन्तार पत्राचार गरेपछि अटेरी गर्दै आएका छन्। अहिले पनि मध्येपहाडीको गोरखा खण्डको काम कछुवा गतीमा छ।  

प्रकाशित: ५ फाल्गुन २०७९ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App