१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन्। शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन्। उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताइन्।  

उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, 'स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन। शिक्षा व्यापार भएको छ। पहिला त्यस्तो थिएन। पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो। गरिबका छोराछोरी पनि डाक्टर बन्नसक्थ्यो। अब अहिले पैसा नभइ केही पनि हुँदैन।'

पूर्वप्रधानन्यायाधीश कार्कीले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन्। उनले भनिन्,'आर्यघाटमा जल्न त महंगो भइसक्यो। कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्। उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको लागि भिडेर बसिरहेको बताइन्। उनले सरकारमा बस्ने नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन्।

प्रकाशित: ५ फाल्गुन २०७९ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App