४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

व्यवस्थित हुँदै हेटौंडा, एकीकृत अटो भिलेज बन्ने

अटो भिलेजको उद्घाटन पश्चात मेयरको साथमा व्यवसायीहरु।

बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकालाई विस्तारै व्यवस्थित बनाउँदै लगिएको छ। उपमहानगरपालिका कार्यालयले हेटौंडालाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको हो। केही महिनाअघि मात्रै तरकारी बजारलाई बसपार्कबाट सारेर चौकीटोलमा लगिएको थियो।  

यस्तै सडकको दायाँबायाँ छरिएर रहेको सवारी मर्मत केन्द्र (ग्यारेज) का कारण हेटौंडा अव्यस्थित भएपछि अब सवारी मर्मत केन्द्रलाई पनि एकै ठाउँमा सारिने भएको छ। अव्यवस्थित ग्यारेजलाई अब हेटौंडा–११ स्थित राप्ती नदी उकासको करिब ३१ बिगाहा जमिनमा सारिने भएको हो। उक्त क्षेत्रमा एकीकृत अटो भिलेज निर्माण गरिने भएको छ। बजारमा छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै स्थानबाट व्यवस्थित सञ्चालन गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको अटो भिलेजको हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामाले शिलान्यास गरेकी छिन्। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको समयमा तयार गरिएको डिपीआरको आधारमा अटो भिलेज निर्माण हुने भएको हो।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपैयाँ बजेटमा तटबन्ध गरेपछि निस्किएको जग्गामा अटो भिलेज निर्माण गर्न लागिएको मेयर लामाले जानकारी दिइन्। ‘सडकको छेउमा भएको ग्यारेजको कारण हेटौंडाको सौन्दर्यमा ह्रास आउनुका साथै अव्यस्थित पार्किङले दुर्घटना बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै हामीले अटो भिलेज निर्माण गर्न लागेका हौं’, लामाले भनिन्, ‘शिलान्यास गरिएको जग्गा फिलिङ गर्न पहिलो चरणमा १४ लाख ६ हजार विनियोजन गरेको छौं। यसलाई सञ्चालनमा ल्याउन उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्नेछ।’  

व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी टहरा निर्माण गरेर काम गर्न सकिने लामाले जानकारी दिइन्। 

अटो भिलेजमा चार्जिङ स्टेसन, सवारी मर्मत केन्द्र, खेल मैदान, स्वास्थ्य चौकी, हेभी सवारी मर्मत, हेभी इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साइड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले जानकारी दिए। एसोसिएसनले २०५३ सालदेखि अटो भिलेजको आवाज उठाएको थियो। शिलान्यास भएको स्थलमा २५० व्यवसायीले अपनत्व लिनसक्ने र क्षेत्रमा सबै प्रकारका इञ्जिनियरिङ वर्कसपको काम हुने उनले बताए। यसअघि रातोमाटेमा पनि पूर्वाधार तयारीकोे लागि पहल गरिएको थियो। एकीकृत अटो भिलेज निर्माणको काम यथाशक्य छिटो सम्पन्न गरेर सडकको आसपासमा रहेका ग्यारेजलाई स्थानान्तरण गर्नुपर्ने सर्वसाधारणको सुझाव रहेको छ।

प्रकाशित: २९ माघ २०७९ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App