२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा १५ महिनामा लागु औषधका १० मुद्दा दर्ता, ३१ जना पक्राउ

स्वास्थ्यका लागि निकै हानिकारक मानिने लागु औषध जुम्लामा विकराल बन्दै गएको छ। कर्णाली राजमार्ग नखुल्नु अघि जुम्लामा लागु पदार्थको रूपमा स्थानीय स्तरमा उत्पादन हुने भाँग, (चरेस) अफिम मात्रै हुने गर्दथ्यो। यही स्थानीय स्तरमा पाइने चरेस अफिम लागु पदार्थको रूपमा भन्दा पनि यहाँका बुढापाकाले औषधिका रूपमा प्रयोग गर्ने गरेको सुनिन्थ्यो।

तर ०६२ सालपछि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै लागु औषध ब्राउन सुगर भित्रिन थाले। सडक सञ्जाल जोडिएको दुई दशक नपुग्दै जुम्ला लागु औषधिको हटस्पट बन्दै गएको छ। अहिले जुम्ली अभिभावकलाई आफ्ना बालबच्चालाई यो लागु औषधिको दुर्व्यसनीबाट जोगाउन निकै मुस्किल हुने गरेको छ।

कुलतमा फसेका कतिपय बालबच्चालाई अभिभावकले सुधार गृहमा भर्ना गराएका छन्। पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्नका लागि राज्य र अभिभावक उत्तिकै जिम्मेवार हुनु पर्ने देखिएको छ।

धेरै जसो लागु पदार्थ भारतको रुपडिहाँ नाकाबाट बाँके नेपालगन्ज, सुर्खेत हुँदै कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट र मुगु जिल्लामा पुग्ने गरेको पाइन्छ। यो तिन वटै जिल्ला सडक सञ्जालमा जोडिएका छन्।

भारतको रुपडिहाँमा एक हजार रुपियाँमा खरिद गरेको ब्राउन सुगर जुम्ला, कालिकोट र मुगुमा विक्री गर्दा २०/३० हजार रुपियाँसम्म विक्री गर्ने हुने गरेको छ।

यस अघि हवाई जहाजमार्फत नेपालगन्जबाट जुम्ला ब्राउन सुगर पुगेको थियो। १५ महिनामा लागु औषधका १० वटा मुद्दा दर्ता हुँदा ३१ जना प्रतिवादी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार ब्राउन सुगर ७९३ दशमलव ९ मिलिग्राम र चरेस ५८० दशमलव ६२ मिलिग्राम बरामद भएको छ।

प्रकाशित: २८ माघ २०७९ १६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App