२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

हाईड्रोपावरका प्रबन्ध निर्देशकलाई ज्यान मार्ने धम्कीपछि प्रहरी परिचालन

खोटाङ– केन्द्रीय प्रशारणलाइनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।

टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बाल्न लागिएको बेला हाईड्रोपावरको प्रबन्ध निर्देशक राईलाई सोमबार बिहान ज्यान मार्ने र आयोजना ध्वस्त पार्ने धम्की आएपछि बिहिबारदेखि आयोजनास्थलमा सईको कमाण्डमा ५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नवीनकिशोर प्रधानले बताए।

दिनभर आयोजनास्थल आसपासका गाउँमा गस्ती गर्ने र बेलुका मेवा खोला हाईड्रोपावरको आयोजना स्थलको सुरक्षा गर्ने गरी प्रहरी परिचालन गरिएको हो। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोला किनारमा रहेको आयोजना स्थलको सुरक्षा व्यवस्थाका लागि प्रहरी निरीक्षक सरोज राईसमेत आयोजना स्थल पुगेका छन्।

‘प्रबन्ध निर्देशक ज्यूको निबेदनका आधारमा सईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ,’ प्रधानले भने, ‘दिनभर वरपरका गाउँमा गस्ती गर्ने टोलीलाई बेलुका आयोजनाको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ।’ निर्भिक वातावरणमा हाईड्रोपावरको काम गर्ने र तोकिएकै मितिमा योजना पूरा गर्ने वातावरण बनाउन सुरक्षा टोली परिचालन गरिएको हो। प्रहरीको टोली हप्ता दिनसम्म आयोजना स्थलमा खटिने जनाइएको छ।

योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा पछिल्लो पटक भने मोबाईलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको प्रबन्ध निर्देशक राईले बताए। गत भदौ–३० गते सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर १ मेगावाट क्षमताको हाईड्रोपावर निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने जानकारी दिएपछि राई आयोजनास्थलमै बसेर काममा खट्दैआएका छन्।

पूर्वसांसद समेत रहेका राई हाईड्रोपावरको कामका सिलसिलामा दिक्तेलबाट बुईपा जानेक्रममा गत असार–१८ गते शनिबार राती हुर्लुङमा बास बसेकै ठाउँमा निर्घात कुटिएका थिए।

ज्यान मार्ने र आयोजना तोडफोड गरेर समाप्त पारिदिने धम्की आएपछि राई बसिरहेको आयोजना स्थलमा सोमबार राती पनि सुरक्षाकालागि प्रहरीको टोली खटाइएको थियो। यसअघि पनि उनलाई ‘किन योजना चलाएको भन्दै पैसा माग्ने’ गरिएको बताइएको छ। योजना सुरु गरिएको २०७१ साल मंसिरदेखि हालसम्मको अवधिमा २ थान हिल ट्यांक, ४ थान ड्रम, डिजेल, २ सय मिटर कालो तार, पाईपलगायतका सामान चोरी भएकोमा सोमबार राती आयोजनाको जेनेरेटरसमेत तोडफोड भएको छ।

राईलाई धम्की दिने र हाईड्रोपावरको सामान चोरी गर्नेको हालसम्म पहिचान हुन नसकेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए। धम्कीलाई आयोजनालाई असफल बनाउने खेलकोरुपमा समेत बुझ्न थालिएको छ। जिल्लालाई लोडसेढिङ मुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो।

प्रकाशित: ६ आश्विन २०७३ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App