coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विमानस्थलबाट २८ किलो सुन बरामद

पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान–स्थलबाट बरामद भएको १९ किलोग्राम सुनको अनुसन्धान नसकिँदै माघ १९ गते उसैगरी ९ किलोग्रामभन्दा बढी सुन बरामद भयो। दुवै घटनामा धेरै समानता छ। सुन एउटै बाटोबाट हिँडेको छ। एउटै व्यक्तिले नै बोकेको छ। शरीरमै लुकाएर विमानस्थलको चेकजाँच छल्न खोजिएको छ। त्यति मात्र नभई सुनलाई अर्धठोस पारेर नचिनिने बनाउने प्रयास गरिएको देखिन्छ।

पहिलो, पुस ८ गते फ्लाई दुबईको फ्लाइट नम्बर एफ–२५३९ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। त्यसैमा सवार थिए २७ वर्षीय सुडानी नागरिक मोहमद अहमद डाफल्ला सराफिल्दन। यात्रुहरूको भन्सार चेकजाँच भइरहँदा सराफिल्दनमाथि भन्सारका कर्मचारीहरूमा आशंका पैदा भयो। उनी चेकजाँच गर्नुअघि अल्मलिइरहेका थिए। जाँच गर्दा साइरन बजिहाल्यो। त्यसपछि उनले लगाएको ज्याकेटभित्र १० वटा अर्धठोसजस्तो देखिने पदार्थ फेला परे। पछि जाँच गर्दा १९ किलो सुन रहेको पुष्टि भयो।

दोस्रो, माघ १९ गते दिउँसो १२ः१५ बजे दुबईबाट आएको फ्लाई दुबईको एफ–२५७३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो। उक्त विमानबाट ओर्लिएका यात्रु अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट बाहिरिने क्रममा सेक्युरिटी स्क्रिनिङ मेसिनमार्फत जाँच दिँदै थिए। सोही क्रममा एकजना व्यक्तिमाथि मेसिनले आशंका पैदा गर्‍याे। ती व्यक्ति क्यानडेली नागरिक ३५ वर्षीय मोहम्मद कमल महगोब रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुष्टि गरेको छ।

भन्सार चेकजाँचमा खटिएका कर्मचारीले महगोबलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरीको सहायतामा खानतलासी लिन थाल्यो। उनको कम्मरमा बाँधिएको लेदर बेल्टसँगै जोडिएको झोला अस्वाभाविक रूपमा ठूलो थियो। आशंकाका आधारमा त्यहीँभित्र चेकजाँच गर्दा ८ थान पोका र एउटा बेलनाकारको प्लास्टिक बल फेला पर्‍यो। जसभित्र अर्धठोस पदार्थ थियो। त्यो जाँच गर्दा ९ किलो १३५ ग्राम सुन भएको पुष्टि भएको छ।  

उसो त विमानस्थलबाट अवैध ढंगले लुकाएर ल्याएको स–सानो मात्रामा सुन अक्सर बरामद भइरहन्छ। कतिपय घटनामा एक किलोसम्म पनि पुग्ने गरेको रेकर्ड छ। तर यी दुई घटनाले अलि फरक सन्देश दिइरहेका छन्। दुवैमा जुन मात्रामा सुन भित्र्याउन खोजिएको छ, त्यसको मात्रा नै अन्य घटनाको तुलनामा निकै फराकिलो छ। दुवै घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले आफैं पक्राउ गरेका सबैभन्दा ठूला अवैध सुन भित्र्याउन खोजिएका घटना हुन्। यसमा ओसार–पसार गर्न प्रयोग भएका नागरिक विदेशी त देखिन्छन् नै थप उनीहरू आफैं भने व्यवसायी नभएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन्। जसले यी घटनाले एउटा संगठित गिरोहबाट सञ्चालित कारोबारको संकेत गरिरहेका छन्। यद्यपि दुवै घटनाको अनुसन्धान भने त्यतातर्फ अझै पुग्न सकेको छैन।  

‘हामीले हेर्ने भनेको भन्सार ऐनअनुसार राजस्वको पक्ष (तिरेको÷नतिरेको) मात्र हो। त्योभन्दा बढी हाम्रो क्षेत्राधिकार भएन,’त्रिभुवन विमानस्थल, भन्सार कार्यालयका प्रमुख अरूण पोखरेलले भने, ‘यसमा हामीले संगठित अपराध पनि आकर्षित हुनसक्ने देखेर सरकारी वकिल कार्यालयमार्फत थप अनुसन्धान प्रक्रियाका लागि पठाउने गरेका छौं।’ पुस ८ गतेको घटनालाई सोही बमोजिम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको उनले बताए। उक्त घटनामा केही ‘क्लु’ पनि भेटिएको पोखरेलले संकेत गरे। ‘त्यसमा रिसिभ गर्न आएको व्यक्तिसम्म पक्राउ परेका छन्। त्यसैअनुसार अनुसन्धान अगाडि बढिरहेको होला,’ उनले भने।

उता सिआइबीले यस विषयमा विस्तृत रूपमा अनुसन्धान गरिरहेको स्रोत बताउँछ। स्रोतका अनुसार उक्त सुन भारततर्फ जानेगरी आएको देखिएको छ। ‘यसमा संगठित गिरोहकै संलग्नता देखिन्छ। विस्तृत अनुसन्धान भइरहेकै छ,’ स्रोतले भन्यो। ओसार–पसारमा पक्राउ परेका सराफिल्दनलाई सानै रकममा प्रयोग गरिएको पाइएको ती अधिकारीले बताए। माघ १९ गते बरामद सुनका विषयमा भने हालसम्म भन्सार कार्यालयले नै अनुसन्धान गरिरहेको छ। त्यसमा एउटा व्यक्ति मात्रै पक्राउ परेको देखिए पनि पुस ८ गतेकै घटनासँग मिल्दोजुल्दो रहेको भन्सार कार्यालयका प्रमुख पोखरेलले बताए। उनले भने, ‘अहिले हामी नै अनुसन्धान गरिरहेका छौं। केही दिनमा यसलाई पनि संगठित अपराधकै अनुसन्धानका लागि सरकारी वकिल कार्यालयसँग आग्रह गर्छौं।’

यस्ता घटनामा संलग्नलाई भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ (घ) अनुसार मुद्दाअनुसार कारबाही हुँदा मालसामान जफत गरी लिएर एक करोडदेखि तीन करोडसम्म बिगो र एक वर्षदेखि पाँच वर्षसम्म कैदको व्यवस्था छ। यस्तोमा पक्राउ परेका व्यक्ति मात्रै जानसक्ने व्यवस्था हुन्छ।

तर, यस्ता घटनामा गिरोह नै संलग्न हुने देखिएकाले अनुसन्धान गर्ने क्षेत्राधिकार भन्सार ऐन मात्रै पर्याप्त नहुने भएकाले संगठित अपराध निवारण ऐन, २०७० आकर्षित हुन्छ। उक्त ऐनले ‘संगठित अपराध गर्ने उद्देश्यले तीन वा तीनभन्दा बढी व्यक्तिको समूह भए’ त्यसलाई संगठित अपराध मानेको छ। जसको अनुसन्धान नेपाल प्रहरीले गर्छ।

प्रकाशित: २५ माघ २०७९ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App