बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीले दुई घार किनेर मौरीपालन सुरु गरे । बि.स २०७३ सालमा म्याग्दीकै एक अगुवा कृषकबाट साढे ८ हजार लगानीमा किनेर ल्याएको मौरी धेरै समय बसेन, भागिहाल्यो। केही मौरीलाई जुटाएर पुनः मौरी पालन सुरू गरेका दिलबहादुरले धेरै हन्डर र ठक्कर खाए । सामान्य तालिम, विभिन्न सञ्चार माध्यमबाट प्राप्त जानकारीबाटै मौरीपालनमा लागेका दिलबहादुरले हिम्मत नहारी र चुनौतीको सामना गरी ६ बर्षमै आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गराई छाडे। चराएकै ठाउँबाट भाग्न, मर्ने जस्ता नमिठो अनुभव बटुलेका खत्रीले कृषि ज्ञान केन्द्र र मौरीपालन स्रोत केन्द्र गोदावरीबाट १५ दिने घार निर्माण सहितको तालिम लिएपछि दोस्रो बर्ष १८, तेस्रो बर्ष ३६ घार बनाएकोमा अहिले ३ सय हाराहारीमा मौरीका घार छन् । उनी महसँगै घरमै घार बनाएर मौरी पनि बेच्छन्।
म्याग्दीका अगुवा मौरीपालकको परिचय बनाएका खत्रीले आधुनिक र परम्परागत मौरीपालनबाट राम्रो कमाइ गरेका छन्।आधुनिक मौरी घारहरू सहित मौरी, मह र खाली घारबाट बार्षिक २० लाखको कारोबार गर्छन् । उनीसँग परम्परागत मुडे र खोपे घारहरू पनि छन्।‘मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट छु,‘लगानी कम लाग्ने र आम्दानी हुने भएपनि मेहनतमा हेल्चेक्राई गर्नुहुदैन’ खत्रीले भने । विना अनुभव मौरीपालनमा होमिएको अवस्थामा सरकारी तालिम, विभिन्न स्रोत साम्रागीले सहज भएको बताए । ‘गुणस्तरीय महलाई बजारको अभाव छैन,‘घरमै ग्राहक आउनुहुन्छ,‘देशैभरी मौरीको सञ्जाल मार्फत बिक्री गर्ने गरेको छु’ खत्रीले भने ।प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ । गत वर्ष मौरी सहितको घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी गरेका थिए ।
ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रति केजीका दरले बिक्री गर्ने गरेका छन् । सबै खर्च काटेर वार्षिक १४ लाख सम्मको फाइदा हुने गरेको उनले बताए । उनले बार्षिक १ क्विन्टल मह उत्पादनमा बेमौसमी समयमा झण्डै आवश्यकता परेमा चिनी समेत खुवाउन झण्डै ५० हजार खर्च हुने बताए। प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ । ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन् ।महका गोला र मौरीसहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उनको भनाई छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँचहजार र खाली घार मात्रै तीनहजार पाँचसयमा बिक्री हुन् ।
४२ वर्षीय खत्रीे २१ वर्षको उमेरमा दुबई पुगेर दुईवर्ष बिताएर फर्किएपछि पुनः मलेसिया पुगेका थिए । उनले मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर सुन्तला खेती गरेका थिए ।छिमेकी जिल्ला बागलुङको कुँडुलेमा समेत घर बनाएका खत्रीले मौरीजस्तै रसिलो आम्दानीले उत्साहित भएको बताए । उनले विभिन्न जिल्लामा घार सहितको मौरी, खाली घार समेत बिक्री गर्न थालेपछि आम्दानी बढेको बताए। आगामी ५ बर्षभित्र ५ सयभन्दा बढी मौरीको घार बनाउने लक्ष्य रहेको बताए । दिलबहादुरले मौरीपालनसँगै सिजनमा सुन्तला बिक्रीबाट मात्रै बार्षिक ८ लाख आम्दानी गर्ने गरेका छन् । बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा आहारा खोज्दै हिडेका दिलबहादुरले दिनभरी मौरीको हेरचाहमा विताउँछन् । क्षत्रीले रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार मौरी चराइरहेका छन्।
तोरीबारी खोजेर मौरी डुलाउँदै कृषक
म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका जिवन केसी आजकाल मौरी चराउन व्यस्त छन्। बैदेशिक रोजगारीका लागि यूरोप हानिएका उनी दलालले फसाएपछि बाटोबाटै फर्किएर मौरीपालनमा लागे । वैदेशिक रोजगारी सपना साकार नभएपछि मौरीपालनमा लागेका केसी अहिले मौरीको रेखदेखमै ब्यस्त छन् । बेनपा–१ रत्नेचौर तोरीबारीको छेउमा विताउने गरेका छन्। मौरीलाई प्रयाप्त चरण क्षेत्र र सहन सक्ने तापक्रमको खोजी गदैं मुख्य बासस्थानबाट घार ल्याएर मह उत्पादनमा सघाउने तोरीबारीमा पुगेको बताए।‘मौसम अनुसार आहारा पाइने मौरीलाई सार्नुपर्छ,‘मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त बातावरण चाहिन्छ’ कृषक केसीले भने । मौरीको बासस्थानबाट करिक ३ किलोमिटरसम्म आहाराको खोजीमा जाने गर्दछन ।
चरन क्षेत्रमा पुगेका मौरीबाट मह दोब्बर र स्वादिलो समेत हुने भएकाले समय अनुकुल चरन क्षेत्रको खोजी गर्नुपर्ने बताए। ‘अब विदेश जादिन, मौरीपालनबाटै राम्रो गर्ने योजना छ’ केसीले भने । बर्षाको समयमा धान, मकै र हिउँदमा तोरीबारीमा लैजाने गरेकोमा प्रयाप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको केसीले बताए । उनले मौरीको सबैभन्दा पहिलो रोजाई चिउरी र दोस्रो तोरीबारी रहेको बताए । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फुल फुल्ने सबै बिरुवा अनुकुल भएपनि सबैभन्दा राम्रो तोरी र चिउरी भएको बताए । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको बताए। रत्नेचौरको तोरीबारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरीपालनबाट सोचेजस्तै आम्दानी हुने बताए। उनले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य व्यवसाय गर्न नपर्ने बताए। हरेका मौसममा फरक फरक ठाँउमा पु¥याएर चराउनु पर्ने वाध्यता रहेको उनले बताए। मौरी भाग्न सक्ने जोखिममा सावधानी अपनाउनुपर्ने बताए।
प्रकाशित: २४ माघ २०७९ ०७:४१ मंगलबार