२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

ठूला आयोजना अलपत्र

म्याग्दी जिल्लामा सञ्चालित १९  ठूला आयोजनाको निर्माण अलपत्र परेका छन्। सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवन लगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ। संघीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन्।

अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका आठवटा छन्। आठवटा आयोजना सडकसम्बन्धी छन्। सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको राहुघाट जलविद्युत् आयोजना बाहेकका अन्य अलपत्र र अधुरा आयोजनाको लागतचार अर्ब ५० करोड रुपैयाँभन्दा बढी छ।

प्रशासनिक, राजनीतिक र व्यावसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजना अलपत्र बनेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

स्थानीय स्तरको विवाद समयमै सहजीकरण र समाधान नहुनु, नदीजन्य निर्माण सामग्रीको असहजता, स्वार्थ समूहको चलखेल, अनुगमन र नियमन गर्ने पर्याप्त प्राविधिक जनशक्तिको कमी पनि आयोजना अलपत्र हुनुका कारण देखिएका छन्।

रातोढुंगा सबस्टेशन, बेनी-जोमसोम-कोरला, लाम्पाटा-दरवाङ, रत्नेचौर-बेनी, पोखरेबगर-चित्रे, गलेश्वर-राखु, मालढुङ्गा-बेनी सडक, छ्यारछ्यारे, अर्गला, भारवाङ, दुखुखोलाको मोटरेबल पुल निर्माणकार्य अलपत्र बनेका छन्। सम्बद्ध कार्यालयका अनुसार अलपत्र परेकामध्ये केही आयोजना दुई–तीन वर्षअघि नै निर्माण सकिनुपर्ने थियो।

बेनी अस्पताल, ताकम अस्पताल, मल्कवाङ स्वास्थ्यचौकी, औला सिंचाइ, रत्नेचौर लिफ्ट खानेपानी, रावण पार्क लगायतका आयोजना पनि अलपत्रको सूचीमा परेका छन्। म्याग्दी प्रदेशसभा क्षेत्र नं (२) बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले अलपत्र आयोजना पहिचान गरी निर्माणलाई गति दिन सम्बद्ध कार्यालय, आयोजना, प्रदेश र संघीय मन्त्रालयमा ताकेता गरिएको बताए।

‘प्रत्येक आयोजनाको एक-एक अध्ययन र समस्या पहिचान गरी निर्माणलाई अघि बढाउन स्थानीय तह, प्रशासन, आयोजना, निर्माण व्यवसायीसँग समन्वय गरेका छौं’, उनले भने, ‘नागरिक, राजनीतिक, प्रशासनिक र सञ्चार क्षेत्रबाट पनि अधुरा आयोजनालाई पूर्णता दिन चौतर्फी दबाब सिर्जना गराएका छौं।’ रासस

प्रकाशित: २२ माघ २०७९ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App