५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार पालिकाका ८ वटै वडाहरूमा परिचयपत्र वितरण गरिने छ। उनका अनुसार अहिले सम्म पालिकाभरिमा ४ सय गरिब घरपरिवार पहिचान भएका छन्। १ सय १ घर परिवार अति गरिब,१ सय ५५ परिवार मध्यम गरिब र १ सय ४४ घर परिवार सामान्य गरिब परिवार पहिचान भएका छन्।

गाउँपालिकाले पहिलो चरणमा वडा नं ४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। अति गरिब परिवारले रातो,मध्यम गरिबले पहेलो र सामान्य गरिब परिवारले निलो रंगको परिचयपत्र पाएका छन्। 

प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार परिचयपत्रमा क्युआर कोड समेत भएकोले कार्यालयले आवश्यकता अनुसार परिचयपत्रलाई अद्यावधिक गर्दै लैजाने भएको छ। ताप्लेजुङभरिमा सिरिजङ्गाले पहिलो पटक गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको हो। वडा नं ४ तेल्लोक पछि बाँकी रहेका ७ वटै वडाहरूमा क्रमशः गरिब घरपरिवार परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित मापदण्ड अनुसार समय समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखा मुनी रहेको,शिक्षा स्वास्थ्य जस्ता मानव विकासका सूचकहरूको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेको व्यक्ति वा समूहलाई जनाउँछ। 

गरिब परिवार पहिचान भएपछि गाउँपालिकाले बनाउने कार्यक्रम गरिब परिवार लक्षित हुने र उनीहरूको जीवनस्तर सुधारका लागि केन्द्रित हुने गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले बताए। उनले पहिचान भएका गरिब परिवारलाई आत्मनिर्भर बनाउन र गरिबिको रेखामुनि रहेका परिवारलाई समृद्धिको अभियानमा केन्द्रित गर्न योजना बनाइने समेत उनले जानकारी दिए।

गरिब परिवार पहिचानका क्रम जनसाङ्ख्यिक तथा मानवीय अवस्था,परिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा निजी स्कुलमा अध्ययनरत बालबालिका,पारिवारिक औसत आयु, परिवारका सदस्यको रोजगारीको अवस्था,आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरूको संख्या,बसोबास (घर) को भौतिक अवस्था,घरको स्वामित्व, घरको छाना, घरको जगको प्रकार, घरमा भएको कोठा संख्या,घरायसी सुविधा, पिउने पानीको उपलब्धता, शौचालयको सुविधा र प्रकार, खाना पकाउने इन्धन,बत्तीको स्रोत घरायसी सम्पत्तिहरू जस्तै गाडी, इन्टरनेट जडान, केवल टेलिभिजन, टेलिफोन रेफ्रिजेरेटर, पशु चौपाया संख्या,भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्था,भौगोलिक क्षेत्रगत अवस्था,जातजातिगत गरिबीको अवस्था,सीमान्तकृत जातजातिगत समूह र जग्गा जमिनको अवस्था र यसको अनुमानित मूल्य प्रक्षेपण गरेर आर्थिक धरातल निकालिन्छ। 

प्रकाशित: २१ माघ २०७९ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App