१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

युवाको कुटाइबाट वडा सदस्य गम्भीर

घाइते वडा सदस्य राई र वडाले जारी गरेको विज्ञप्ति। तस्बिरः महेश्वर

स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ। 

वडाध्यक्ष हिमराज मगरका वडाको साउने बजार क्षेत्रमा विद्युतीकरण गर्ने कार्यमा खटेका बेला सदस्य राईमाथि स्थानीय पवन भन्ने लोकचन्द राईले कुटपिट गरेका हुन्। विद्युत् विस्तारको काममा प्राविधिकसहित खटेका सदस्य राईमलाई बत्ती जडान गर्ने क्रममा  कुटपिट गरेका हुन्। वडाध्यक्ष मगरका अनुसार आफ्नो घर भएको क्षेत्रमा विद्युत् लाइन ढिला बिस्तार गरेकोमा आक्रोशित भएका राईले पोलमा चढेका प्रविधिलाई झर्न दबाब दिएपछि दुईबिच भनाभन भएसँगै सदस्य राई आक्रमणमा परेका हुन्।

सदस्य राईले विकासको विरोध नगर्न आग्रह गर्दा एक्कासि घाँटीमा अँठ्याएर उचाल्दै कालोपत्रे सडकमा पछार्नुका साथै थप लात्ती र मुड्की प्रहार गर्दा गम्भीर घाइते भएको मगरले बताए। उनका अनुसार सडकमा पछार्दा ढुंगामा परेर घाँटीमा गहिरो चोट लागी बेहोस भएका उनको शरीर भरी नीलडाम पनि रहेको छ। घट्नालगत्तै सदस्य राईलाई उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा प्रारम्भिक उपचारपछि हाल न्युरो अस्पताल बिराटनगरमा उपचार गरिँदै छ। वडाध्यक्ष मगरका घाइते राईको घाउमा ४ वटा टाँका मारेर उपचार भइरहेको छ। 

वडाध्यक्ष मगरका अनुसार घट्नाको दिन बिहानदेखि आक्रमणमा उत्रिने लोकचन्द्रकै छोराको छेवर कार्यक्रम भएकाले सदस्य राई, वडाध्यक्ष मगरलगायत गाउँलेहरू दिनभर भात भान्सामा खटेका थिए। दिनभर काम सघाउनु परेकाले सो दिनको विद्युत् बिस्तार गर्ने काम साँझ ५ः०० बजेपछि गर्न भनेर सदस्य राई प्राविधिक लिएर फिल्ड निस्केका थिए। तर, बेलामा काम नगरिदिएको भन्दै रिसाएका राईले सदस्यमाथि एक्कासि आक्रमण गर्दा अप्रिय घटना हुन पुगेको वडाध्यक्ष मगरले बताए। 

कुटपिटमा उत्रिएका राईलाई कारबाही गर्नुको साटो भगाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। वडाध्यक्ष मगरका अनुसार घट्नापछि प्रहरी चौकी साउनेको नियन्त्रणमा रहेका राईलाई शुक्रबार बिहान प्रहरी मिलेमतोमा भगाएको आरोप लगाउँदै आफन्तले प्रहरीप्रति गुनासो गरेका छन्। जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयालले भने पक्राउ व्यक्तिलाई भगाएको नभई दु्ईपक्षबीचको छलफलमा मिल्ने सहमति भए अनुसार जमानीमा छाडिएको बताए। बिरामीको उपचार खर्च बेहोर्ने, त्यसका लागि कुटपिट गर्नेलाई खर्च जुटाउन कस्टीमा नराख्ने सहमति अनुसार जमानीमा छाडिएकोमा पुनः विरोध भएपछि मुद्दा दर्ता गरेर कारबाही अघि बढाउन लागेको एसपी फुयालले बताए। 

यता वडा कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी आक्रमणकारी लोकचन्द्र राईलाई सख्त कारबाही गर्न माग गरेको छ। जनताको काम गर्ने सिलसिलामा सार्वजनिक स्थलमा वडा सदस्यजस्तो जिम्मेवार व्यक्तिलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको कार्यवाहक वडाध्यक्ष रेखाकुमारी राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विकास निर्माणमा लागिरहेका जनप्रतिनिधिलाई दादागिरीको शैलीमा सडक बाटोमै कुटपिट गर्नु गम्भीर विषय भएको भन्दै विज्ञप्तिमा हदैसम्मको कारबाही माग गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। 

प्रकाशित: २० माघ २०७९ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App