१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालय भवनमा अन्य कार्यालय सञ्चालन

सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको पाँच वर्षपछि नाटकीय रुपमा उद्घाटन भएको छ। एक समारोहबिच भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत नितेश कुमारले बिहीबार विद्यालय भवनको उद्घाटन गरेका छन्।

भारत सरकारको सहयोगमा २०७४ मा निर्माण सम्पन्न भइसकेको विद्यालय भवनको उदघाटन बिहीबार गर्दै महावाणिज्यदूत नितेश कुमारले दुई देशबिचको सम्बन्धको एउटा प्रमाणको रुपमा विद्यालय भवन रहिरहने र विद्यालय भवनको निर्माणले बालबालिकालाई राम्रो वातावरण प्राप्त हुने बताएका छन्।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अध्यक्षतामा भएको विद्यालय भवन उदघाटन समारोहमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि नरेश राज सुवेदी तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहासहितको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झाले २०७४ मा नै निर्माण कार्य सम्पन्न भइसकेको विद्यालय भवनमा विभिन्न कार्यालयहरु जबरजस्ती संचालन गरिएको बताएका छन्। विद्यालय भवनको उदघाटन भएपछि विद्यालयको जमिनमा बनेको र विद्यालयको प्रयोजनको लागि बनेको सम्पूर्ण भवन विद्यालयको प्रयोगको लागि आउनु पर्ने जिकिर गरेका छन्।

प्रधानाध्यापक झाले भारत सरकारको ४ करोड ४५ लाखको लागतमा बनेको विद्यालय भवनमा विगत ४ वर्षदेखि अस्पताल र विद्युत कार्यालय संचालनमा रहेका छन्। यसै गरी विद्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी आवास रहेका छन्। विद्यालयसंग कुनै सम्झौता नगरी जबरजस्ती कार्यालयहरु संचालनमा रहेको प्रअ झाको भनाइ छ।

भारतले निर्माण गरिदिएको भवनमा नै २०७४ को स्थानीय तहको निर्वाचनपछि केही महिना नगरपालिका कार्यालय संचालनमा आएको थियो। अहिले पनि केही कोठामा नगरपालिकाको लगाएको ताल्चा रहेको छ।

विद्यालय भवनको उदघाटनसँगै महावाणिज्यदूत नितेश कुमारले विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरेका छन्।

विद्यालय भवन हस्तान्तरण भएसँगै प्रअ झाले विद्यालय भवनबाट अस्पताल र विद्युत कार्यालय हटाएर पठनपाठन संचालन गराउन सहयोग गर्न स्थानीय, जिल्ला समन्वय समिति सर्लाही र प्रशासनसंँग अनुरोधसमेत गरेका छन्।

भारत सरकारले भव्य विद्यालय भवन निर्माण गरिदिएको भए पनि विद्यार्थीहरु पुरानै भवनमा पढ्न बाध्य छन्।

प्रकाशित: १९ माघ २०७९ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App