१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्। घटनापछि फरार रहेकी रेग्मीले ११ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ। प्रहरीले रेग्मीलाई सजाय भुक्तानका लागि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।

परिसरका डीएसपी ईश्वर कार्कीका अनुसार डिल्लीबजार कारागारमा सँगै कैद भुक्तान गरेका गुप्ता र कोइरालाबीच निकट सम्बन्ध रहेको थियो। कोइरालामार्फत् फरार रहेकी रेग्मीको सम्पर्कमा पुगेका गुप्ताले विभिन्न बहानामा धम्काउँदै आएका थिए।

ढकाल पुस २७, २०६८ मा घरबाट हराएको भन्दै कोइरालाले खोजी गर्न प्रहरीमा निवेदन दिएका थिए। सोही वर्ष माघ ८ मा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेका कोइरालाले नियोजितरुपमा ढकालको हत्या गरी शव गाडेको अनुसन्धानमा खुलेको थियो। उनले पत्नी गीता ढकाललाई काठमाडौंको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए। मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा उनी पक्राउ परेका थिए।

सरकारले २०७१ पुस ११ गते कोइरालालाई बर्खास्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पत्नी गीता ढकाल हत्याको अभियोगमा कोइरालालाई सरकारले भविष्यमा पनि सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरेको हो।

पूर्व आपूर्ती मन्त्री गुप्ता ब्यापारी पवन संघाई अपहरणमा सजाय भुक्तन गरेर एकवर्ष अघि रिहा भएका हुन्। ललितपुर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा सोमबार गुप्तालाई फेरि पक्राउ गरेको हो। गुप्ता ललितपुर प्रहरीको हिरासतमा छन्।

प्रकाशित: २१ भाद्र २०७३ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App