कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवारबाट लागु हुने गरि सुरक्षित यात्रा अभियान सञ्चालन गरेको छ। प्रदेश प्रहरी कार्यालय मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि यात्रु र चालकसंग संयूक्त रुपमा सुरक्षित यात्रा उक्त अभियान थालिएको हो।
कर्णालीमा दुर्घटनाको दर बढेसंगै प्रहरीले सुरक्षित यात्रा अभियान मार्फत यात्रु र चालकसंग सचेतना कार्यक्रम लागु गरेको हो। सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसंगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरु जानकारी गराउने गर्दछन्।
कर्णाली प्रदेश गर्ने मुख्य द्धार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सुचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसंग सामुहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए।
प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनिकरणका लागि सुरक्षा सचेतना कार्यक्रम गरेको जनाइएको छ। प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।
विग्रदो सडक, पुराना सवारी साधन, तिव्र गति, मदिरा सेवन गरेर गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु लगायतका कुराहरुले सवारी दुर्घटना बढीरहेका बेला सुरक्षित यात्राका लागि सचेतना कार्यक्रम प्रदेशभरि कडाईका साथ लागु हुने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले बताए।
प्रकाशित: १८ माघ २०७९ १२:२६ बुधबार