१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हेटौँडाको वन विज्ञान अध्ययन संस्थानको सङ्ग्रहालय प्रयोगविहीन

मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ।

हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ। मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन्। 

भारतको दुई करोड ६० लाख रूपैयाँ लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो। यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन्। सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन्। सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान  विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिङ्ग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ।

सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताए। ‘बजेटको अभाव भएको छ’, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ। यहाँ कर्मचारीको समेत अभाव छ।

वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ। हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए।

प्रकाशित: १८ माघ २०७९ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App