१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी गाउँपालिकाको हरेक वडामा ५० लाखका ‘गौरव’को योजना

गोरखाको गण्डकी गाउँपालिका।

गोरखाको गण्डकी गाउँपालिकाले भने हरेक वडामा ५०/५० लाखको एक/एक वटा गौरवको योजनामा काम सुरु गरेको छ।

८ वटा वडा रहेको गाउँपालिकामा हरेक वडालाई पालिकाले एक करोड १० देखि एक करोड ३५ लाखको सिलिङ दिएको थियो। ‘यो मध्ये एउटा योजना कम्तीमा ५० लाखको हुनुपर्छ भनेका थियौँ’ गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले भने ‘सबै वडामा त्यसरी नै कार्यक्रम बन्यो, अहिले काम सुरु भइसकेको छ।’

वडा नम्बर १ को मकैसिंङ मुल सडक स्तरोन्नती, २ को दलभञ्ज्याङ कुवापानी हुँदै पातीस्वाँरा हुँदै साँधीखोला नाला र सडक निर्माण, वडा नम्बर ३ को भलायोडाँडा आमडाँडा ठुलोफाँट सडक, ४ को गौरीचौतारादेखि पौवा हुँदै पुरानो गाउँ सडक निर्माणको योजना रहेको छ। सबै वडाले सडकलाई प्राथमिकता दिएका छन्।

सडकका कारण सर्वसाधारणले सास्ती पाउने भएकाले ग्रामिण सडक स्तरोन्नतीमा वडाले प्राथमिकता दिएको अध्यक्ष तिमल्सिनाले बताए। वडा नम्बर ५ मा छोरेटार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक, ६ को पल्लोटार गडही देविस्थान हुँदै कोराक सडक, ७ को जलविरे खोला ज्यामीरेघाट कौदी सडक र ८ को धवादीघाट ८ नम्बर वडा कार्यालय तेर्से कोटगाउँ हुँदै बेनीगाउँ सडक गौरवको योजनाको रुपमा रहेको छ।

‘गत वर्षको योजना सात सय ३६ वटा थियो’ गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले भने ‘धेरै योजना हुँदा देखिनेगरी काम गर्न नसकिने रहेछ, अहिले योजना घटाएर चालु वर्ष चार सय ८६ मा झारिएको छ।’ गाउँपालिकाले पनि यस वर्ष आईडाँडाबाट कुलबेसीसम्म चार करोड बिनियोजन गरेको उनले बताए। ‘गाउँपालिकालेपनि गौरवको योजना यसलाई मानेर चार करोड राखेको हो’ उनले भने। तीन दशमलव ८६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भइरहेको उनले बताए।

‘साना र टुक्रे योजनामा बजेट बिनियाजन गर्दा एक वर्ष कार्यक्रम हुने तर अर्को वर्ष नदेखिने भयो’ अध्यक्ष तिमल्सिनाले भने ‘वडामा बैठक राखेर, स्थानीयलाई ‘कन्भिन्स’ गराएर ५० लाखको एउटा योजना छनौट गरेका हौँ।’

८ वडा मध्ये वडा नम्बर १, २ र ६ का योजना उपभोक्ता समितिबाट भएका छन् भने बाँकी वडाको टेण्डर भएको उनले बताए। ‘दिगो बिकासको लक्ष्य अनुसार कम्तीमा हरेक वर्ष वडा÷वडामा गौरवको योजना संचालन गरौँ भन्ने हो’ उनले भने।

वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर गुरुङले योजना छनौट गर्दा वडाबासीलाई गौरवको योजनाको महत्व, छनौट गर्नुपर्ने कारण लगायतका बारेमा बुझाएर छनौट गरिएको बताए। ‘हरेक वर्ष एउटा÷एउटा योजना छनौट हुने, पहिले सुरु भएकालाई निरन्तरता दिने विषयमा छलफल गरेर छनौट गरेका हौँ’ वडा अध्यक्ष गुरुङले भने ‘त्यती धेरै समस्या भएन, मेरो वडामा अधिकासं योजना तीनलाख भन्दामाथिका छन्।’ 

नगर तथा गाउँपालिकाले वडालाई बजेटको ‘सिलिङ’ तोक्ने र वडाले मनमैजी रुपमा योजना छनौट गरी बजेट बिनियोजन गर्ने गर्छन। वडामा ७० लाखदेखि एक करोड ५० लाख सम्मका योजनामा बजेट बिनियोजन हुन्छ।  

प्रकाशित: १७ माघ २०७९ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App