१६ चैत्र २०८० शुक्रबार
समाज

हलेसी मन्दिरको भेटी चोरेको आरोपमा एक युवक पक्राउ

खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरको भेटी चोरी अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। भेटी चोरको प्रमाण सिसी टिभी क्यामेरामा देखिएको आधारमा इलामको सातखरा नगरपालिका ८ का ३६ वर्षीय रुपेश राई पक्राउ परेका हुन्।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रि–धार्मिक संगमस्थल हलेसीको पार्वती स्थानमा राखिएको दान पेटिका फोरेर भेटी चोरेको फुटेज सिसी टिभीमा देखिएपछि उनलाई पक्राउ गरिएको खोटाङ प्रहरीले जनाएको छ। उनले आइतबार राति ८ः१५ बजेको समयमा दान पेटिका फुटाएर भेटी चोरी गरेको सिसी टिभी फुटेजले देखाएको प्रहरीकाे भनाई छ।

दान पेटिका फुटाएर पैसा झिकेर भागेको फुटेजको आधारमा पहिल्याउँदै जाँदा राईलाई सोमबार हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटार प्रहरी चौकीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई अनुसन्धान र कारबाही लागि सदरमुकाम दिक्तेल ल्याइएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङका अनुसार उनले १५/१६ हजार भेटी चोरेको अनुमान छ। तर, उनको साथबाट नेपाली ६ सय ९० र भारतीय मुद्रा १ हजार ८ सय ४५ बरामद भएको डिएसपी मुकारुङले बताए। उनले कति रकम चोरेको भन्ने यकिन नभइसकेको बताउँदै उनले थप अनुसन्धानपछि मात्र विस्तृत खुल्ने डिएसपी मुकारुङको भनाई छ। पक्राउलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थप्ने तयारी भइरहेको छ।

सिसी टिभी फुटेजले उनी दिउँसो मन्दिर वरिपरि घुमफिर गरिरहेको देखाएको छ। रात परेपछि कोही नभएको मौका पारेर फलामे रड प्रयोग गरी दान पेटिका फुटाएर ,भेटी रकम झिकेर भागेको देखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए। सिसी क्यामेराले दान पेटिका फुटाएर भेटी चोरेको देख्ने बित्तिकै इलाका प्रहरी कार्यालय हलेसीमा खबर गरेर खोजी गर्ने क्रममा सुमो चढेर भाग्दै गरेको अवस्थामा च्यास्मिटारबाट पक्राउ गरिएको हाे।

हलेसी दर्शन गर्न आउने भक्तजन तथा तीर्थयात्रीले चढाएकाे  भेटी मन्दिर व्यवस्थापन समितिले झिकेर उचित शीर्षकमा खर्च गर्ने गरेको छ। व्यवस्थापन समितिले हलेसीको महादेव गुफा, बसाहा गुफा, पार्वती स्थानलगायत बिभिन्न ठाउँमा दान पेटिकाहरू राख्दै आएको छ।

यस अघि पनि बेलाबेलामा यसरी चोरी हुने गरेकाले व्यवस्थापन समितिले मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरेको हो। चोरी चकारीलगायत अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरिए पनि अपराध भने नघटेको समितिले जनाएको छ। नगरपालिकाले पहिले जडान गरेको सिसी टिभी चट्याङले बिग्रेपछि पुनः अर्को जडान गरेको छ।

प्रकाशित: १७ माघ २०७९ ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App