काठमाडौं- २०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।
अहिले माथिल्लो भाग चर्किएको ठाउँमा पुनर्निर्माण चलिरहेको छ। स्तुपको गजुरका त्रयोदश भुवन (१३ वटा खुट्किला) को गारो लगाउने तथा बज्र प्लाष्टर गर्ने काम सम्पन्न भईसकेको छ। पुरानो तामाको पातामा सुनको मोलम्मा लगाउने, छत्रावली (गजुर रहने भागको छाता) र पद्मका काठ (कमलको फूल)को कार्य पनि ९० प्रतिशत सम्पन्न भएको छ। स्तूपलाई चट्याङबाट जोगाउन अर्थिङ जडानको काम पनि सकिसकेको समितीले जनायो। समितीका अनुसार स्तूपमा अर्थिङ जडान भने पहिलो पटक हो।
अहिले हर्मिका तथा त्रयोदश भुवनमा सुनको मोलम्ब लगाएको पाता जडान भईरहेको छ। आसपासका साना स्तुपा समेत भत्किएका थिए। ती भने बनिसकेका छन्। 'तिब्र गतीमा कामअघि बढिरहेको छ,' समितीका अध्यक्ष सम्पुर्ण कुमार लामाले भने, 'कार्तिकसम्म सकाउने योजनामा छौं।' उनका अनुसार मंसीरको पहिलो हप्तामा पर्ने देवअवतरण दिवस (लभव धुइछेनल) बुद्ध देबलोकमा आमालाई शिक्षा दिएर पृथ्वीमा फर्केको दिन , का दिन चारै बौद्ध परम्पराका धर्मगुरुको सानिध्यमा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा पूजा सम्पन्न गर्ने र राष्ट्र प्रमुखको बाहुलीबाट उद्घाटन गराउने उद्देश्य समितीले राखेको छ।
समितीको आन्तरिक स्रोत र स्वदेशी तथा विदेशी दाताको सहयोगबाट पुननिर्माण भईरहेको स्तुपको अनुमानित पुननिर्माण लागत १८ करोड ४५ लाख छ। पुननिर्माणको लागि समितीले ३ करोड र दाताबाट १४ करोड २२ लाख संकलन भएको छ। 'सरकारको मुख ताकेर बसेको भए अहिलेसम्म पूननिर्माणको कामअघि नबढ्न सक्थ्यो,' समितीका एक अधिकारीले भने, 'सरकारबाट कुनै किसिमको सहयोग प्राप्त भएको छैन।' उनका अनुसार समिती सरकारको ढोकामा पूनर्निमाणको आह्वान नै गरेको छैन। पुरातत्व विभागले भने प्राविधिक सहयोग गरिरहेको छ। समितीले पनि पुरातत्वकै अनुसार मौलिक शैलीमा पुर्ननिर्माण गरिरहेको जनाएको छ।
३० किलो सुन
स्तुपको वरीपरी राखिने पातामा लेपन गर्न ३० किलो सुन लागेको समितीले जनाएको छ। पहिला त्यँही भएको सुनलाई ननिकाली त्यसैमाथि लेपन गरिएको हो। '३० किलो लागिसकेको छ,' अध्यक्ष लामाले भने, 'अझै ४/५ किलो लाग्ने अनुमान गरिएको छ।' लामाका अनुसार अहिलेसम्म लागेको सुन दाताबाटै सहयोग आएको हो। 'सर्वसाधरणबाट १ किलो र बाँकी २९ किलो धर्मगुरु ताई सितुपा रिन्पोछे मार्फत सहयोग आएको हो,' समितीले शनिवार जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बाँकी आवश्यक सुन पनि दाताबाटै आउने समेत लामाले नागरिकलाई जनाए।
स्तुपको पुननिर्माण रोक्न महास्तूपको गर्भमा स्हुँङ (बौद्ध परम्पराका महत्वपूण मानिने त्रयोदशाभित्र राखिने सामग्री) राख्ने कार्यमा मानव अस्तु राखेको आरोप लगाइ गुठी संस्थानमा उजुरी दिएको बताउँदै त्यसविषयमा गुठी संस्थानमा पनि जवाफ पेश गरिसकेको बताएको छ। पुरातत्व र स्थानीयको प्रत्यक्ष सहभागीता काम भएको तथा यस्तो कुनै घृणित काम नभएको भन्दै अनगल प्रचारमा नसुन्न र प्रवित्र कार्यमाथि आँच पुर्याउने काम नगरिदिन समेत आग्रह गरेको छ।
३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूलामध्ये एक मानिने स्तुपकोे निर्माण पाँचौं शताब्दीमा भएको मानिन्छ। डनियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (सन् ४६४–५०५) गरेको देखिन्छ। बौद्धमार्गीहरूले बौद्धनाथ पनि स्वयम्भूजस्तै आफंै उत्पन्न भएकोे विश्वास राख्छन्।
युनेस्कोको पहलमा सन् १९५४ को अप्रिल २१ देखि मे १४ सम्म हेगमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले तयार पारेको महासन्धिमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ। उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्भर सन् १९९३ मा संयुक्त रूपमा गरेको थियो। युनेस्कोको पुनरावलोकनले विश्व सम्पदासूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको देखेको थियो। ती स्थलहरूलाई एकदेखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू)मा राख्ने र विभिन्न शर्त पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ। महाभुकम्पपछि बौद्ध सहित काठमाडौंका अधिकांश सांस्कृतिक धरोहर खतरामै छन्।
क्षती भएका अधिकांश सम्पदा अझै पुर्ननिर्माण थालिएको छैन। पुर्ननिर्माण थालिएको पहिलो सम्पदा बौद्धनाथलाई लिइन्छ भने सम्पन्न हुने पनि पहिलो हुनेमा बौद्धनाथ देखिएको छ।
प्रकाशित: १२ भाद्र २०७३ ०३:१३ आइतबार