१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

कफिनमा आए कमान्डर,शरीरको छर्रा निकाल्न पाएनन्

जुम्लाको तातोपानी गाउँपालिका-३ लिताकोट गाउँ शोकमा डुबेको छ।

धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।

छोरा बाकसमा फर्किएपछि जुम्ला तातोपानी–३  लिताकोटकी एकुमाया कार्की भक्कानिएकी छिन्। पैसा कमाउन विदेश गएका छोरा बाकसमा फर्किएपछि उनको होसहवास उडेको छ।

साउदीमा फलाम कारखानामा काम गर्दै आइरहेका ४० वर्षीय तिलकबहादुर कार्की गत पुस २८ गते सुतेकै अवस्थामा मृत भेटिएका हुन्। उनी २०७८ पुस २८ गते नेपालबाट गएका थिए। मृत्यु भएको १५ दिनपछि उनको शव बिहीबार बिहान घर पुर्‍याइएको थियो।

तिलकबहादुरको मृत्यु भएसंगै परिवार विचल्लीमा परेको नातेदार रामकृष्ण न्यौपानेले बताए। उनले भने, 'कमाउने उमेरमा दैवले खोसेर लग्यो। परिवार विचल्लीमा छ। यो सबै बेरोजगारीको उपज नै हो।'

तिलकले पुस २६ गते बेलुकीपख फोन गरेर आफू बिरामी भएर निको भइसकेको बताएका थिए। त्यो दिन उनले परिवारका सबै सदस्यसँग कुरा गरेका थिए। तिलकका आमाबुवा,श्रीमती दुई छोरा र एक छोरी छिन्। तिलकसँगै उनका जेठा बुवाको छोरा बखतबहादुर पनि सँगै साउदी गएका थिए। तिलकको मृत्यु भएपछि उनले नै घरमा जानकारी दिएका थिए। तिलक तत्कालीन नेकपा माओवादीको सेक्सन कमान्डरसमेत थिए।

२०६१ मा भूमिगत भएका उनको घर नजिकै २०६२ सालमा नेपाली सेनासँगको भीडन्तमा शरीरमा छर्रा लाग्यो। तीन वटा छर्रा शरीरमै हुँदा पीडा खेपिरहेका उनी उपचारमा राहत मिल्ला भनेर विदेशिएका थिए।

'शरीरको छर्रा निकालौंला। छोराछोरीलाई लेखपढ गराउँला भनेर साउदी पुगेका थिए,' आफन्त भक्तबहादुर रावलले भने, 'न परिवारमा खुसी मिल्यो न त शरीरको छर्रा नै निकाल्न पाए। झनै परिवार विचल्लीमा छोडेर गए।'

तिलकले पटक–पटक शरीरको छर्रा निकाल्ने प्रयास गरे। तर आर्थिक अभावका कारण सफल भएन। पटक–पटक उनी संलग्न माओवादी सरकारमा पुग्यो। तर उनको समस्या सम्बोधन हुन सकेन। पटक-पटक पार्टी सरकारमा गए पनि र 'जनमुक्ति सेना' कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन। 

तिलकको मृत्युले जुम्लाको शान्त तिलाकोट गाउँ शोकमा डुबेको छ।कार्कीको शव नेपाल ल्याउनका लागि जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङलगायतले सहयोग गरेका थिए। सांसद तामाङले मृतकका परिवारलाई सहयोग गर्न सरकारसँग आग्रहसमेत गरेकी छिन्।

प्रकाशित: १३ माघ २०७९ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App