१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा जाँदा प्रत्येक पटक पटके

बागलुङको ट्राफिक चोकमा पार्किङ गरिएका ट्याक्सी। तस्विरः संगम/नागरिक।

बागलुङमा रहेका अधिकांश ट्याक्सी पोखरा लक्षित छन्। बागलुङ—पोखरा यात्रा गर्ने यात्रुलाई छिटो छरितो यात्रा गराउनका लागि भनेर धेरै जसो ट्याक्सी सञ्चालनमा आएका हुन्। तर यहाँबाट पोखरा पुग्नका लागि ट्याक्सी चालकहरुले हरेक पटक पटके काट्नुपर्छ। नेपाल सरकारले साना सवारी साधन सञ्चालनका लागि दुई जिल्लाको मात्रै रुट परमिट दिने नियम बनाएपछि बागलुङ-पोखरा सञ्चालन हुने साना सवारी साधनले हरेक पटक पटके काटेर पोखरा पुग्नुपर्ने बाध्यता भएको हो। ‘हाम्रो मुख्य लक्षित यात्रु भनेको हो पोखराकै लागि हो,’ एक ट्याक्सी चालक भन्छन्,‘यहाँबाट पोखरा पुग्नका लागि जति पटक गयो उति पटक पटके काटेर जानुपर्छ। यसले गर्दा समस्या भइरहेको छ।’  

बागलुङमा सञ्चालित अधिकांश ट्याक्सीको मुख्य लक्ष्य पोखरा जाने र त्यहाँबाट आउने यात्रु नै हुन्। तर सरकारले यो सडकमा रुट परमिट पूरा नदिँदा समस्या भएको उनी बताउँछन्। ‘बागलुङमा त के ट्याक्सी चल्छ र  पोखरा जाने र आउने यात्रुलाई बोक्ने नै सबैको लक्ष्य हुन्छ,’उनले भने,‘छिटो र छरितो यात्रा गराउनका लागि लागिपरेका हामीलाई पटके काट्नुपर्ने झन्झटले समस्या पर्ने गरेको छ।’ यातायात कार्यालयमा पटकेका लागि पूर्जी जाँदा समेत आफुहरु ठगिने गरेको ट्याक्सी चालकहरु गुनासो छ। ‘बागलुङबाट पोखरा जाँदा सय रुपैयाँ तिरेर काटे पुग्नेमा चिया खर्च २० रुपैयाँ थप दिनुपर्छ,’ एक चालकले गुनासो गरे,‘रातीको समयमा यातायात व्यवस्था कार्यालय पुगेर पटके लिनुपर्‍यो भने त एक सय ५० रुपैयाँसम्म दिनुपर्छ।’

विगतमा अञ्चलभरीको रुट परमिट दिएको सरकारले पछि दुई जिल्ला मात्र परमिट दिन थालेपछि धेरै नै समस्या भएको ट्याक्सी व्यवसायीहरुको संस्था धौलागिरि अञ्चल यातायात सेवा प्रा.लि. बागलुङका अध्यक्ष बलराम सापकोटा बताउँछन्। ‘राज्यको पुरानो संरचना हुँदा एउटा अञ्चलभरी सञ्चालन हुनेगरी साना गाडीको रुट परमिट पाईन्थ्यो,’ उनले भने,‘अहिले त दुई वटा जिल्लाको भन्दा अरुको पाइँदैन। तेस्रो जिल्ला जानुपर्ने भएमा पटके काटेर मात्रै हिँड्न्पर्छ। नभए जरिवाना तिर्नुपर्छ।’ बागलुङमा दर्ता भएका ट्याक्सी बागलुङ बाहेक अन्यत्र जानका लागि पर्वत या म्याग्दी मात्रै रोज्नुपर्ने बाध्यता छ। बागलुङ म्याग्दी चल्ने ट्याक्सीले पर्वत जानुपर्दा र बागलुङ पर्वत चल्ने ट्याक्सीले म्याग्दी जानुपर्दा पटके नकाटे जरिवाना दिनुपर्ने बाध्यता रहेको शर्माको भनाई छ।  

‘ट्याक्सी भनेको अप्ठ्यारोमा र एकदमै छिटो पुग्नका लागि खोजिने यातायातको साधन हो,’ सापकोटा भन्छन्,‘मालढुङ्गामा रहेको ट्याक्सी अकस्मात बेनी जानुप¥यो भने पनि बागलुङ बजार आएर पटके काटेर मात्रै बेनी पुग्नुपर्ने हुन्छ। यसले व्यवहारिक रुपमा कठिनाई उत्पन्न भएको छ।’ सरकारलाई कर तिरेर सञ्चालन भएका ट्याक्सीहरुको व्यवहारिक समस्या समाधानतर्फ कसैले ध्यान नदिएको उनको गुनासो छ। ‘हरेक पटक पटके काट्ने कुराले हामीलाई निकै समस्या पारेको छ,’ उनी भन्छन्,‘यो विषयमा हामीले सरोकारावाला पक्षलाई धेरै नै जानकारी गरायौं अनुरोध ग¥यौं। तर समस्यमाको समाधान भएन।’  

बागलुङ बजार साँघुरो भएको र ग्रामिण सडकहरु अधिकांश कच्ची भएकाले धेरै जसो ट्याक्सी बागलुङ—पोखरा सञ्चालन हुने गरेको धौलागिरि अञ्चल यातायात सेवा प्रा.लि. बागलुङका सचिव अनुप खड्का बताउँछन्। ‘हामीसँग दर्ता भएका बागलुङमा एक सय भन्दा धेरै ट्याक्सीहरु सञ्चालनमा रहेका छन्,’ उनले भने,‘बागलुङ बजार साँघुरो भएका कारण यहाँ भित्र ट्याक्सी चढेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने चलन छैन। गाउँका सडकहरु कच्ची भएकाले समस्या छ। धेरै जसोका लक्ष्य पोखरा नै हो।’ ट्याक्सी स्ट्याण्ड र पार्किङ स्थल नहुँदा पनि आफूहरुले समस्या व्यहोर्नु परेको उनी बताउँछन्।

‘बागलुङ बजारको सडक साँघुरो भएका कारण सडक छेउमा ट्याक्सी राखेर ग्राहक कुर्ने अवस्था पनि छैन, ट्याक्सी स्ट्याण्ड नहुँदा निकै समस्या भएको छ,’सचिव खड्काले भने,‘पार्किङ स्थल पनि नहुँदा हामी आफैंले पैसा तिरेर पार्किङ गर्नु परेको छ। राज्यलाई कर पनि तिरेकै छौं। पटकेमा छुट्टै तिर्नुपर्छ।’ कोरोना महामारीले गर्दा थल परेका ट्याक्सी व्यवसायीलाई राज्यले कुनै सम्बोधन नगरेको खड्काको गुनासो छ। यातायात व्यवस्था कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाले भने परमिट नपाएको ठाउँमा जानका लागि दूरीका हिसाबले प्रतिकिलोमिटर दुई रुपैयाँका दरले रकम लिएर पटके दिने व्यवस्था रहेको बताए।

‘बागलुङबाट पोखरा जाने ट्याक्सीले पर्वतसम्मको रुट परमिट हुन्छ, त्यस भन्दा अगाडिको पटके काट्नुपर्छ,’ उनले भने,‘कानुन अनुसार प्रतिकिलोमिटर दुई रपैयाँका दरले रकम लिने गरिन्छ।’ पटक काट्नका लागि यातायात व्यवस्था कार्यालयमा मात्र नभई पूर्वाधार विकास कार्यालयबाट पनि लिन सकिने बताए। साना सवारी साधनले दुई जिल्लाको मात्रै परमिट पाउने कानुनी व्यवस्था भएका कारण यातायात व्यवस्था कार्यालयले पटके दिने बाहेक तत्कालका लागि अरु केही गर्न नसक्ने उनको भनाई छ।  

बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने परमिटको समस्याका बारेमा सम्बन्धित सरोकार निकायसंग परामर्श गर्ने बताए। नयाँ बनेको बागलुङ बसपार्क सञ्चालनमा आएपछि अहिलेको जीपपार्कलाई नगरपालिकाले लिएर साना सवारी पार्किङस्थलको रुपमा विकास गर्ने र ट्याक्सीको पनि पार्किङ समस्या समाधान हुने श्रेष्ठले बताए।

प्रकाशित: १३ माघ २०७९ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App