पत्रकारिता क्षेत्रमा डेढ दशक लामो समयदेखि योगदान पुर्याउँदै आएकी नागरिक दैनिककी पत्रकार रूबी रौनियार सम्मानित भएकी छिन्।
पत्रकार रौनियारले विगत १४ वर्षदेखि नागरिक दैनिकमा कार्यरत रही शिक्षा क्षेत्रमा कलम चलाएर सञ्चार माध्यमबाट शैक्षिक सुधारको कार्यमा पुर्याएको योगदानको कदर गर्दै राजधानीमा अवस्थित चेल्सी इन्टरनेशनल एकेडेमीले उनलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गरी सम्मान गरेको हो।
बिहीबार सरस्वती पूजाको अवसर पारेर एकडेमीले एक जिम्मेवार शैक्षिक संस्थाको हैसियतले समाजप्रतिको आफ्नो दायित्व महसुस गर्दै शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सञ्चार, खेलकुद, समाजसेवा, वातावरण तथा सामाजिक सुरक्षा लगायतका २५ भन्दा बढी विभिन्न विद्यामा समाजमा योगदान पुर्याउने एक सय ६० प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको छ।
चार चरणमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त कार्यक्रममा बिहीबार पहिलो चरणको कार्यक्रममा एकेडेमीका प्रिन्सिपल तथा फाउन्डर डा. सुधीर कुमार झाले पत्रकार रौनियार सहित ३४ प्रतिष्ठित व्यक्तिलाई दोसल्ला र कदर पत्र प्रदान गरी सम्मानित गरेका थिए।
उक्त कार्यक्रममा शिक्षा तर्फबाट शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, पत्रकार छत्र कार्की, बैङ्किङ क्षेत्रबाट प्रतापजंग पाण्डे, संस्कृति तर्फबाट रबिन्द्र पुरी, रक्षा तर्फ अवकाश प्राप्त रथी बलानन्द शर्मा, कूटनीति तर्फ डा. दिनेश भट्टराई, शिक्षा तर्फ डा. श्रीकृष्ण वाग्ले,बालकृष्ण धोजू , होटेल व्यवस्थापन तर्फ कृष्णचन्द्र झा,र कृष्ण खरेल तथा स्वास्थ्य तर्फ डा. भगवान कोइराला लगायतका व्यक्तिहरू सम्मानित भएका थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुभीर कुमार झाले शैक्षिक सुधारका अवधराणाहरु राखेका थिए भने सम्मानित व्यक्तिहरूले शिक्षामा देखिएका पाठ्यक्रमका त्रुटिलाई उजार गर्दै स्वदेशमै युवा जमातलाई अवसर सृजना गर्ने शिक्षाको आवश्यकताबारे अवगत गराएका थिए।
चेल्सी इन्टर नेशनल एकेडेमी अन्तर्गतकै विद्या संस्कार मावि जोरपाटिमा आयोजित उक्त सम्मान कार्यक्रममा विद्यार्थी र अभिभावको बाक्लो उपस्थित रहेको थियो भने विद्यार्थीले आकर्षण गीत र नृत्य प्रस्तुत गरेका थिए।
‘सन् २००५मा स्थापित चेल्सी इन्टरनेशनल एकेडेमीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत रहेर जिसिइ ए–लेभल कार्यक्रम संचालन गर्दै आएको छ। साथै नेपालकै शैक्षिक कार्यक्रम पूर्व प्राथमिक र माध्यमिक विद्यालय तहलाई पठनपाठन गर्दै आएको छ,’ प्रअ झाले भने ‘सामाजिक दायित्व अन्तर्गत अरूको सम्मान गर्न सिक्नु पर्छ भन्ने अवधारणाले सम्मान कार्यक्रम गरिएको हो।’
प्रकाशित: १२ माघ २०७९ १२:१७ बिहीबार