१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कामै नगरी रकम भुक्तानी

गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको भन्दै बाँकेको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीविरुद्ध आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उक्त आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा पाँच लाख ६५ हजार तीन सय नौ रुपैयाँ ५० पैसा रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गरिएको छ। सल्यानको कालीमाटी गाउँपालिकामा कार्यरत हुँदा उनले भ्रष्टाचार गरेको आरोप छ। आरोपित खत्रीसहित तत्कालीन योजना अनुगमन तथा मूल्यांकन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सनसिल्ता डिसी, इन्जिनियर टेकबहादुर केसी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी, वडा नम्बर ७ का वडाध्यक्ष नैन सिंह राना र सवइन्जिनियर दिपेन्द्रबहादुर शाहीविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए।

आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कालीमाटी–७ स्थित घुइँयावारी (रिङरोड योजना) मुल सडक विस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमितता गरेको आरोप उनीहरु माथि लागेको छ। उक्त सडक विस्तार, नाला सुधार तथा ग्रावेल योजनामा नभएको काम भएको छ भनि गलत कार्य सम्पन्न प्रतिवेदन तयार पारी बिल भुक्तानी गरेको अख्तियारको दाबी छ।

‘कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाइ पेस भएको झुट्टा बिल भरपाइ स्वीकृत गरी भुक्तानीका लागि आदेश दिएको, कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरुको मिलिमतोमा झुट्टा बिल भरपाइ र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाइसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेस गरी बढी भुक्तानी दिइएको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्रमा उल्लेख गरिएको छ।

रोजगार उपभोक्ता समितिका अध्यक्ष गणेश बुढा, सचिव कृष्णा सार्की र कोषाध्यक्ष गीताकुमारी बोहराले कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख भएअनुसारको नाप र परिमाणमा काम नभएको अवस्थामा इस्टिमेटबमोजिम काम भएको भन्ने निर्णय गराइ भुक्तानीका लागि सिफारिस गरेर सरकारी वा सार्वजनिक सम्पत्ति बदनीयतपूर्वक हानीनोक्सानी पु¥याएकाले उनीहरुलाई पनि रकम बिगो कायम गरी सजायको दाबी गरिएको छ। उनीहरुलाई पनि पाँच लाख ६५ हजार तीन सय नौ रुपैया ५० पैसा बराबरको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गरिएको छ।

हाल बाँकेको राप्तीसोनारीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत खत्रीविरुद्ध भ्रष्टाचारसम्बन्धी विशेष अदालतमा आरोपपत्र दायर भएपछि उनी स्वतहः निलम्बनमा परेका छन्। गाउँ कार्यपालिकाको बैठकबाट आर्थिक अधिकारबाहेक प्रशासनिक र अन्य अधिकारसहित आर्थिक प्रशासन शाखा प्रमुख तथा लेखा अधिकृत गौरवकुमार लामिछानेलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनाए।

‘राप्तीसोनारीमा भ्रष्टाचार गरेको आरोप होइन। उहाँ (हरिबहादुर खत्री) सल्यानको कालीमाटी हुँदा गलत कार्य गरेको आरोप लागेको हो,’ उनले भने, ‘कालीमाटीबाट उहाँ यहाँ आउनु भएको थियो।’

प्रकाशित: १२ माघ २०७९ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App