खोटाङ– रुट पर्मिट नभएका सवारी साधनको संञ्चालनमा प्रशासनले रोक लगाएपछि खोटाङका यात्रु हवाई जहाजबाट यात्रा गर्न बाध्य भएका छन्। सडक यात्राको तुलनामा हवाइ यात्रा निकै महँगो हुने भएकोले स्थानीय मारमा परेका छन्।
रुट पर्मिट नभएका सवारीसाधनमाथि रोक लगाइएपछि हजाइजहाजमा थेग्नै नसकिनेगरी यात्रुको भीड लागेको नेपाल एयरलाइन्सका खानीडाँडा स्टेशन ईन्चार्ज प्रमुख यादवसेन राईले बताए। तीन दिन यता दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा बिमानस्थलमा शहर जाने आउने यात्रुको चाप बढेको छ। खानीडाँडाका कारण चाप कम भएको लामीडाँडामा समेत हाल यात्रु बढेका छन्। अहिले रुघाखोकी र ज्वरोका बिरामी बढेका कारण हवाइजहाजमा झनै चाप बढेको स्टेशन ईन्चार्ज प्रमुख राईले बताए। नेपाल एयरलाइन्सको बिमानले शुक्रबार, शनिबार, आइतबार र बुधबार काठमाण्डौँ–खानीडाँडा–काठमाण्डौँ र मङ्गलबार र शुक्रबार बिराटनगर–खानीडाँडा–बिराटनगरका लागि नियमित उडान भर्दै आएको छ। लामो समयसम्म उडान नगरेको गोमा एयरलाइन्सले समेत यात्रुको भीडकै कारण बिहीबार बिहान उडान भरेको छ।
हालसम्म यातायात व्यवसायीले रुट पर्मिट नलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले गत मंगलबारदेखि यातायातका सवारी साधन चलाउन रोक लगाएको छ। रुट पर्मिटको बिषयलाई लिएर प्रशासनले यातायातका सवारी साधन आवतजावतमा रोक लगाएपछि दिक्तेल–जयराम लगायतका मूख्य सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन चल्न नसक्दा बिरामी र आकस्मिक कामका सिलसिलामा ओहोरदोहोर गर्ने यात्रु सबैभन्दा बढि मारमा परेका छन्। यातायात व्यवसायीले अहिलेसम्म कानुनीरुपमा सवारी साधन नचलाएका कारण प्रक्रियागतरुपमा सञ्चालनका लागि रोक लगाइएको प्रशासनले जनाएको छ। रुट पर्मिट र बन्द सवारी साधनका बिषयमा हालसम्म यातायात व्यवस्था बिभागबाट कुनै निर्देशन नआएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।
पहिलोपल्ट २०६४ साल पुस–२० गते मनाङ एयरको हेलिकप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको दुई वटा आइसर ट्रक भिœयाइएको खोटाङमा हालसम्म रुट पर्मिटबीना नै यातायातका सवारी साधन सञ्चालन हुँदैआएको छ। यातायात व्यवसायीले रुट पर्मिट लिन बेवास्ता गरेको प्रशासनको भनाई छ भने रुट पर्मिट माग्दा नपाएको व्यवसायीको भनाइ छ।
प्रकाशित: ९ भाद्र २०७३ ०९:५३ बिहीबार