२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रेम प्रसादका माग पूरा गर्न इलामवासीहरूको माग

संघीय संसद् भवन अगाडी आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यका माग पूरा गर्न र उनलाई न्याय दिन इलामवासीले माग गरेका छन्।

इलाम क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतदेखि जिल्लाका उद्योगी–व्यवसायीले प्रेमप्रसादले उठाएका माग पूरा गर्न र उनले उल्लेख गरेजस्तो कहालीलाग्दो अवस्था अन्त्य गर्न सरकारसमक्ष माग गरेका हुन्।

सांसद बस्नेतले शोक वक्तव्य जारी गरी आत्मदाहको अवस्थामा पुग्ने अवस्था आउनु दुःखद भएको भन्दै प्रेमले उठाएका यथोचित माग पूरा गर्न सरकार, राजनीतिक दल र समाजले ध्यान दिनुपर्ने जनाएका छन्। उनले देशमा केही गर्छु भन्ने युवक आचार्यको निधन भएकामा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना प्रकट गरेका छन्।

इलाम क्षेत्र १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले यो घटनाबारे संघीय सरकारको ध्यानाकर्षण गरेकी छिन्। पीडितले उठाएका सवालमा गम्भीरतापूर्वक तत्काल छानबिन गर्न उनको माग छ। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘भविष्यमा  नेपाली  नागरिकले  यस प्रकारका समस्या झेल्नु नपरोस्, विधि, कानुन  जनमुखी, किसान र मजदुरमुखी बनोस् । अनि, कार्यान्वयन होस्।’

इलाम उद्योग वाणिज्य संघले पनि उद्यमशीलता देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले आउँदा दिनमा प्रेमप्रसादको जस्तो अवस्था निम्तिन नदिन माग गरेको छ। संघले ध्यानाकर्षण पत्र जारी गरी आचार्यको मृत्यु स्थानीय उत्पादनको बजारीकरण गर्नेक्रममा बैंक, सरकारी निकाय, वित्तीय संस्था र अन्य व्यक्तिले ऋण उठाउन दिएको दबाबका कारण भएको देखिएको जनाएको छ। यो घटना निकै दर्दनाक भएको भन्दै संघले देशको उद्यम–व्यवसायबारे राज्यले स्पष्ट नीति निर्माण गर्नुपर्नेसमेत उल्लेख गरेको छ।

प्रेमप्रसादको घर रहेको सूर्योदय उद्योग वाणिज्य संघले पनि विज्ञप्ति जारी गरी देशको आर्थिक व्यवस्था र नीतिगत झमेलाका कारण उद्यमी आचार्यलाई गुमाउनुपरेको जनाएको छ। संघले यो घटनाले देशको परिस्थिति उजागर गरेको पनि बताएको छ।

आचार्यको आत्मदाह राज्यका आम विकृतिविरुद्धको संगीन प्रश्न भएको ठहर संघको छ। स्थानीय कृषि उत्पादनको बजारीकरणमा लामो समय लागेका आचार्यलाई साथ दिन नसक्नु राज्यको गम्भीर कमजोरी भएको भन्दै संघले उनले उठाएका माग पूरा गर्न सरकारसँग मागसमेत गरेको छ।

आचार्यमा आश्रित परिवारको बिचल्ली भएको भन्दै विज्ञप्तिमा उनीहरूको गुजारा र शिक्षा–दीक्षा जिम्मा लिनसमेत माग गरिएको छ।

आचार्यले मंगलबार अपराह्न संघीय संसद् भवनअघि आफ्नो शरीरमा पेट्रोलियम छर्केर आगो लगाएका थिए। गम्भीर घाइते आचार्यको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार क्रममा आज (बुधबार) बिहान साढे ५ बजे मृत्यु भएको थियो।

प्रकाशित: ११ माघ २०७९ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App