महेन्द्रनगर– सुदुरपश्चिमेलीको महान पर्व गौरा विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। गौरा पर्वको सुरुवातअघि नै यहाँका पहाडदेखि तराईका जिल्लामा देउडा भाका गुञ्जयमान भैरहेका छन्।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व आरम्भ हुने गर्दछ। पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले व्रत बसेर गहँु, केराउ, गहुँत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई यहाँ ‘बिरुडा’ भनिन्छ।
गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनक बढेको छ। सूदुरपश्चिमेलीहरुले दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन्। त्यसैले गौरामा एकैछिन भए पनि देउडामा रमाउन परदेशिकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्। यसवर्ष पनि छिमेकी देश भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदुरपश्चिमेली सीमावर्ती नाकाहरुबाट घर फर्किएका छन्। द्वन्द्वका बेला सुस्ताएको यो पर्वले देशमा शान्ति छाएपछि आप्mनो वास्तविक लय पाएको छ।
पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यतीबेलादेखि नै यो परम्परा चल्दै आएको भनाइ छ।
महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भियाएर पुजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो (धागो) चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ।
सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्। महिलाले घर परिवारमा सुख शान्ति र परिवारका सदस्यहरुको दीर्घायुका लागि व्रत बसी पुजाआजा गर्ने मान्यता छ। विरुडालाई प्रसादका रुपमा बाँड्ने चलन पनि छ। विरुडा भुटेर खानेसमेत गरिन्छ।
गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो। डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यती मात्रै नभएर सामाजिक विकृतीविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यंग्य गरिन्छ। महिलाहरुले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।
सशस्त्र द्वन्द्वका बेला गौरा पर्व फिका हुँदै गएकोमा अहिले भने पुरानै रौनकता आएको डेउडाप्रेमी बताउँछन्। गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलिआएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ। बसाई सराईसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडा सबैको आकर्षण बन्ने गरेको छ। तराईका कञ्चनपुर र कैलालीमा सुदूरपश्चिमेलीबाहेककाले पनि देउडामा रमाएको सहजै देख्न सकिन्छ। केही संघसंस्थाले यस अवसरमा डेउडा प्रतियोगितको समेत आयोजना गर्ने गरेका छन्।
सदरमुकाम महेन्द्रनगर नजिकका विभिन्न मन्दिर र सार्वजनिक मैदानमा सयौंको संख्यामा देउडा खेल्ने र हेर्नेहरुको घुँइचो लाग्ने गरेको छ । डेउडामा मुख्यतया ठाडो र ढुस्को खेल खेल्ने गरिन्छ। महेन्द्रनगरको खुला मञ्चमा एकसाता अघिदेखि नै डेउडा खेल्न थालिएको छ। साँझसम्म डेउडाका भाकाले मञ्च गुञ्जायमान हुने गरेको छ ।
देउडालाई मनोरञ्जनका रुपमा मात्र नभई शिक्षा र चेतनामुलक रुपमा समेत प्रयोग गर्न थालिएको छ। देउडाका माध्यमले भन्न खोजेका कुरा सबैले सहज रुपमा बुझ्ने भएकाले जिल्लाका विभिन्न संघ–संस्थाले चेतनामुलक कार्यक्रमा यसको प्रयोग गर्ने गरेका छन्।
यस वर्ष केही ठाउँमा सोमबार नै विरुडा भिजाएर गौरा पर्वको सुरुवात गरिएको छ भने केहिले नेपाली पञ्चाङ्ग समितिको पात्रो अनुसार मंगलबार पञ्चमी मानेर विरुडा भिजाउने तयारीमा छन्।
आचार्य घनश्याम लेखकका अनुसार सात गते पञ्चमी मध्यान्नसम्म नभएकाले छ गते नै विरुडा भिजाउन उपयुक्त रहेको बताए । सोमबार आठ बजेर ३२ मिनेट उपयुक्त भएको उनको जिकिर छ ।
प्रकाशित: ६ भाद्र २०७३ ०८:५० सोमबार