१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आन्तरिक टर्मिनलका शाखा प्रमुख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। उनका साथबाट १ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको छ। उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको कार्यकक्षभित्रको दराजबाट स्रोत नखुलेको ८ लाख रूपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

चुडाल नवौं तहका कर्मचारी हुन्। उनीमाथि विभिन्न विषयमा अनियमितताको उजुरी परेपछि अनुसन्धान गर्दा घुस लिइसकेपछिको अवस्थामा अख्तियारले उनलाई कार्यकक्षबाटै सोमबार नियन्त्रणमा लिएको हो। चुडालले एयरपोर्ट(आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्न इन्ट्री पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार टोली त्यहाँ पुगेको थियो।

चुडालको कार्यकक्षमा विदेशबाट ल्याइएका मोबाइल, महँगा रक्सीसमेत बरामद भएको अख्तियार स्रोतले जनाएको छ। ‘इन्ट्री पास’का लागि मासिक रूपमा शुल्क लिने गरेको भेटिएको अख्तियारको दाबी छ। उनीमाथि अनियमितताका थुप्रै आरोप लागेको अख्तियार स्रोतको भनाइ छ। चुडाललाई अनुसन्धान गरी मुद्दा चलाउने तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App