१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर भत्काइदिएपछि वडाअध्यक्षको घरमा आक्रमण

जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय धरानबाट बाहिरिदै वडाअध्यक्ष मनप्रसाद लिम्बु (बीचमा)। तस्बिर: रोहित राई

धरान उपमहानगरपालिकाको डोजरले अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर भत्काइदिएपछि वडा नं ५ का जनप्रतिनिधिहरु नै असुरक्षित भएका छन्।

आक्रोशित भिडले वडा नं ५ का अध्यक्षको घरमा गएर परिवारका सदस्यहरुलाई कुटपिट गरेको छ। यो घटना पछि वडाका जनप्रतिनिधिहरु नै त्रसित भएका छन्। पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनको दाजु लक्ष्मी भन्ने जीवन लिम्बुको नेतृत्वमा घरमा गएर परिवारका सदस्यलाई कुटपिट भएको र आफुलाई ज्यान मार्ने धम्की पनि दिएको भन्दै वडाअधयक्ष मनप्रसाद लिम्बुले प्रहरीमा जाहेरी दिएका छन्। घटनाको बेला भने उनी घरमा थिएनन्।

पहाडबाट विरामी आफन्त आएको कारण आफु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको बेला घरमा उक्त घटना भएको वडाअध्यक्ष लिम्बुले जानकारी दिए।

 ‘म अस्पताल गएको थिएँ। नगरको डोजरले सरकारी जग्गाको संरचना भत्काएपछि मेरो घरमा गएर परिवारका सदस्यलाई कुटपिट भएछ, ’वडाअध्यक्ष लिम्बुले भने, ‘मलाई पनि ज्यान मार्ने धम्की दिएकोले असुरक्षित महशुस भएर प्रहरीमा सुरक्षाको माग गरेको छुँ।’

अराजक समुहले वडा कार्यालयका सहयोगी राजन लिम्बुलाई बाहिर निकालेर कुटपिट गर्दै गर्दा जोगाउन आएका वडाअध्यक्ष छोरा दिपेन लिम्बु, सुनिल लिम्बु र चासोक लिम्बुलाई महिलाहरुले कुटपिट गरेका थिए। कुटपिटबाट राजनको टाउको र निधारमा चोट लागेको छ।

गएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पुनः वडाअध्यक्षमा उठेका सन्तोष लिम्बुको प्यानल पराजित भएको थियो। वडा नं ५ मा एमालेको प्यानल विजयी भएको छ। साविक पाँचकन्या गाविस रहेको यो वडामा पुर्ववडाअध्यक्ष लिम्बु र उनको सुमहको अराजकता, गुण्डागर्दीको दबदबा छ। उनीविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैनन्। गत बैशाखमा चुनाव सकिए लगत्तै अधेरी खोला उत्खनन्को बिषयमा मिडियामा बोलेको वहानामा भर्खर निवार्चित वडा सदस्य प्रेम दाहालको घरमा आक्रमण गरेका थिए।

वडा सदस्य दाहाल धेरै दिन घरबाट भागेर भुमिगत नै हुनुपरेको थियो। उक्त घटनामा एमाले र कांग्रेसको नेतृत्व बसेर मिलाउन खोजेपनि सफल भएका थिएनन्। पुर्ववडाअध्यक्ष लिम्बु कांग्रेसका धरान उपसभापति पनि छन्।

अहिले पुनः अवैध संरचना भत्काएको वहानामा जनप्रतिनिधिहरुमाथि पुर्ववडाअध्यक्ष लिम्बु र उनको समुहले निशाना बनाएपछि त्रसित छन्। ‘घरमा बस्ने अवस्था नै भएन। राती रक्सी खाएर घरमा आएर जे पनि गर्नसक्छन्,’ वर्तमान वडाअधयक्ष लिम्बुका छोरा दिपेन भन्छन्।

वर्तमान वडाअध्यक्ष लिम्बुले आइतबार ईलाका प्रहरी कार्यालय धरानमा सुरक्षा माग गर्दै पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनको दाजु लक्ष्मी भनिने जीवन लिम्बुसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

उनीहरुको अगुवाईमा ४०, ५० जनाको समुह घरमा आएर गालीगलौज, नाराबाजी गरेको र आफुलाई नभेटेपछि परिवारका सदस्यहरुलाई कुटपिट गरेको वडाअध्यक्ष लिम्बुले निवेदनमा उल्लेख गरेका छन्। आफुलाई ज्यान मार्ने धम्कीसमेत दिएकोले कुनै पनि समयमा घटना घटाउन सक्ने भएकोले पक्राउ गरि आवश्यक कारबाही गर्न र शान्ति सुरक्षा दिलाउन वडाअध्यक्ष लिम्बुको माग छ।

पुर्व वडाअध्यक्ष लिम्बुले भने आफुले कसैलाई पनि धाकधम्की नदिएको र कुटपिटको नेतृत्व पनि नगरेको दाबी गरे। बिहान घर भत्काउदा वडाका जनप्रतिनिधिहरु नआएकोले आक्रोशित भएर स्थानीय जनता वडाअध्यक्षको घरमा गएको बेला झगडा भएको आफुले सुनेको उनले बताए।

‘वडाका जनप्रतिनिधिहरु किन आएनन् भनेर वडाअध्यक्षको घरमा गएको बेला झगडा भयो भन्ने सुने। मैले केही गरेकै छैन। कसैलाई केही भनेकै छैन,’उनले भने, ‘मबाट कोही किन असुरक्षित हुनुपर्यो? बरु आजको घटनाले हामी पो असुरक्षित भएका छौं। कतिखेर डोजरले हाम्रो घर भत्काइदिने हो भन्ने त्रास भयो।’

ईलाका प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठले वडाअध्यक्षबाट जाहेरी आएको र मुद्दा दर्ता गरेर कानुन अनुसार कारबही प्रक्रिया अघि बढ्ने बताए। राज्यको उपस्थितिमा अवैध भनिएको संरचना भत्काएको बिषयमा असन्तुष्टी भए न्यायको लागि अदालत जानसक्ने बाटो हुदाहुदै व्यक्तिको घरमा गएर कुटपिट गर्नेलाई कानुनले छुट नदिने डिएसपी श्रेष्ठले बताए।

‘उहाँहरुलाई चित्त नबुझेको भए अदालतमा जानसक्नुहुन्छ। त्यसरी व्यक्तिको घरमा गएर कुटपिट गर्न पाइदैन। जाहेरी आइसकेको छ, मुद्दा दर्ता भएर कानुनी कारबाही हुन्छ,’ डिएसपी श्रेष्ठले भने।

प्रकाशित: ८ माघ २०७९ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App