१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कालो गहुँको खेती लोप हुँदै, माग धान्न भारतको भर

कालो गहुँ। तस्बिर: गोल्डेन बुढा

जुम्ला सडक संजालसँग जोडिएपछि कालो गहुँ(उवा)खेती लोप हुँदै गएको छ। पहिला जुम्ली किसानले बर्सेनि बारीमा कालो गहुँको खेती गरे पनि पछिल्लो समय कालो गहुँ (उवा) खेतीमा आकर्षण घट्दो क्रममा देखिएको छ।

जुम्ला चन्दननाथ नगरपालिका - ८ का भैरबहादुर धरालाले कालो गहुँ (उवा)को खेती गर्न छाडेको तीन वर्ष भएको बताए। उनले भने,तीन वर्ष पहिलेसम्म बर्सेनि बारीमा कालो गहुँको खेती गरिरहेका हुन्थे। तर अहिले कालो गहुँको खेती गर्न छाडेको छु।

धरालाका अनुसार कालो गहुँ सुगर फ्री भएकोले अहिले बजारमा अत्यधिक माग छ। लगाउनै छाडेकोले पछुतो लागेको उनको भनाइ छ।जुम्लाबाटै व्यापारीले कालो गहुँ प्रतिकेजी २ सय ६० रुपैयाँमा खरिद गर्ने गरेका छन्।

कालो गहुँ खेती जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाको ६० वटा वडामै हुन्छ। अहिले पनि सिंजा, कनकासुन्दरी, हिमा र पातारासी गाउँपालिकाका किसानले कालो गहुँको उत्पादन गरेर बेचिरहेका छन्। सिंजा -२ का टिकराज धितालले गत वर्ष मात्रै जुम्लादेखि १५ क्विन्टल कालो गहुँ खरिद गरेर चितवन पुर्‍याएको बताए।

उनले किसानलाई घरदैलोमै प्रतिकेजी २ सय ६० रुपैयाँ उपलब्ध गराएको सुनाए। उनले भन्ने, कालो गहुँको देशका शहर र अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ। तर कम उत्पादन भएकोले पुर्‍याउन सकिएको छैन।

जुम्लामा सडक पुगेसँगै कालो गहुँको खेती लोप हुँदै गएको स्थानीय बताउँछन्। चन्दननाथ नगरपालिकाको-५ वडाले कालो गहुँको निर्यातका लागि दिएको सिफारिस देखाउँदै टिकाराजले भने,कालो गहुँ जुम्लीको लागि राम्रो आम्दानीको स्रोत बनेको छ।

टिकराजले खरिद गरेर चितवनमा पुर्‍याएको गहुँ विनोद गिरीले जापान, अमेरिका र श्रीलंकाको बजारमा समेत लैजाने गर्छन्। कालो गहुँबाट बीयर तथा मदिराजन्य पेय पदार्थ समेत बन्ने गरेको छ। जुम्लाको उत्पादनले माग नधानेकाले भारतबाट खरिद गरेर ल्याउने गरिएको व्यापारीहरु बताउँछन्।

उनका अनुसार बजारको माग धान्नकै लागि बाँकेको रुपैडिहा नाका हुँदै भारतबाट भित्र्याएर नेपाली बजारमा पुर्‍याउन किसान बाध्य छन्।अहिले भने चन्दननाथ-८ की आउसी रोकाया कालो गहुँको खेती गर्न लागेको बताउँछिन्। उनले पहिले खाजाको लागि मात्र खेती गर्ने भएपनि अब व्यावसायिक रुपमा खेती गर्न थालेकी हुन्। 

जुम्लामा कालो गहुँ मंसिर महिनामा छरेर जेठ महिनामा उत्पादन भित्र्याउने गरिन्छ। कालो गहुँमा उच्च जिंक तत्व, सुगर फ्री हुने भएकाले यसको रोटी मधुमेहका बिरामीका लागि फाइदाजनक हुने मान्यता छ। यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुने र क्यान्सरका विरामीलाई पनि फाइदा पुर्‍याउने बताइन्छ।

प्रकाशित: ४ माघ २०७९ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App