१० असार २०८१ सोमबार
image/svg+xml
समाज

हात्ती आतंक: स्थानीय रातभर जाग्राम

हात्तीले क्षतिग्रस्त बनेको धरान १७ विद्या टोलको एक घर। तस्बिर: रोहित राई।

सुनसरीको बराहक्षेत्र र धरान उपमहानगरपालिकाको जङ्गलसँग जोडिएको बस्तीमा जंगली हात्तीले आतंक मच्चाउन थालेको छ।

हात्तीको आक्रमणबाट बराह क्षेत्रमा मंगलबार मात्र एक जनाको ज्यान गएको थियो भने धरानको वडा नं १७ मा ३ वटा घरमा क्षति पुगेको थियो। यस्तै, थप २ वटा कृषि फर्मको संरचनामा पनि हात्तीले क्षति पुर्‍याएको छ।

जङ्गलसँग जोडिएको वडा १७ को विद्या टोल र कुमेल क्षेत्रका बासिन्दा हात्तीको त्रासले रातभर सुत्न सकेका छैनन्। एक सातादेखि जंगली हात्ती आएर बस्तीमा पस्न थालेको कारण राती घरमा सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ।

विद्या टोलका स्थानीय जानुका राईका अनुसार मंगलबार साँझ करिब ५ बजेतिर ३ हात्ती आएका थिए। त्यसपछि रातभरि त्रासको कारण सुत्न नसकिएको उनले बताइन्।

‘हिजो ५ बजेतिर ३ वटा हात्ती गाउँ पस्यो। हामी रातभरि सुत्न सकेनौँ। अहिले बिहान ५, ६ बजेतिर मात्र जङ्गलभित्र गयो,’उनले भनिन्, ‘एक हप्ता अघि पनि ५,६ वटा हात्तीको समूह आएको थियो।’

हात्तीले विद्या टोलमा अनिता विकको घर पुर्णरुपमा क्षति बनाएको छ भने मनकुमार विकको घरमा पनि हात्तीले क्षति पुर्‍याएको छ। घरमा बस्ने स्थिति नभएको भन्दै पीडित अनिताले भनिन्, ‘हामीलाई एकदमै गाह्रो भयो। पकाएर खाने भाँडाकुँडा पनि केही छैन। सुरक्षा पनि भएन।’

हात्ती आतंक प्रभावित क्षेत्रमा बुधबार मेयर हर्क साम्पाङ, इलाका प्रशासन कार्यालयका प्रमुख चूडामणि भट्टराई, वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईलगायत स्थलगत निरीक्षणमा गएका थिए।

उनीहरुले सुरक्षाको प्रबन्धन गर्न सरकारका निकायहरूले चासो नदिएको भन्दै गुनासो पोखेका थिए। त्रासले बालबच्चा लिएर राती घर छोडेर हिँड्नुपरेको भन्दै सजता राईले आक्रोश पोखिन्। मेयर साम्पाङ, इलाका प्रशासन प्रमुख भट्टराई र वडाअध्यक्ष भट्टराईले पनि स्थानीय बासीलाई सुरक्षाको प्रबन्ध गर्ने र पीडित परिवारलाई राज्यकोतर्फबाट राहत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका थिए।

मृतकलाई १० लाख राहत दिइने

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हात्ती मरेपछि १५, २० वटा हुलमा हात्ती, बस्ती वरिपरि डुल्ने गरेको बताए। बस्तीमा क्षति नपुगोस् भनेर स्थानीय तह र प्रशासनले पटका, हाईलाइट बाल्ने, वनको गाडीमा भएको साइरन बजाउने, थाल ठटाउने गरेर हात्तीलाई बस्तीबाट टाढा भगाउने प्रयास भइरहेको पनि प्रजिअ यादवले बताए।  

‘दीर्घकालीन उपाय छैन। रोकथाम गर्ने हो। हात्तीलाई डाइभर्ट गरेर अन्यत्र पठाउनु पर्ने हुन्छ। ५,६ वटा हात्ती उदयपुरतिर लागेको छ,’उनले भने।

प्रजिअ यादवका अनुसार मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको ६५ बर्षीय धनबहादुर माझीको परिवारलाई १० लाख राहत उपलब्ध हुनेछ। घाँस काट्न गएको बेला मंगलबार बिहान माझीलाई हात्तीले आक्रमण गरेको थियो।

‘मृतक परिवारलाई राज्यकोतर्फबाट वन डिभिजनमार्फत १० लाख क्षतिपूर्ति आउँछ। घरमा क्षति पुगेको परिवारलाई अधिकतम २० हजार राहत आउँछ,’प्रजिअ यादवले भने।

प्रकाशित: ४ माघ २०७९ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App